सुनसरी । इटहरीमा मोटरसाइकल दुर्घटनामा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष तथा दुहबी जेसीजकी पूर्व अध्यक्ष कञ्चन झा र दुहबी जेसीजका पूर्व अध्यक्ष प्रकाश साहको मृत्यु भएको छ।
सोमबार साँझ करिब ७ः३० बजे मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित स्वस्तिक जुट मिल अगाडिको भित्री पक्की सडक खण्डमा प्रदेश नम्बर १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–५ निवासी ३१ वर्षीय प्रकाश साह र पछाडि सवार विराटनगर महानगरपालिका–१५ निवासी ४० वर्षीया कञ्चन झा गम्भीर घाइते भएका थिए। दुवै जनाको अनुहार र टाउकोमा गम्भीर चोट लागेपछि तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएकोमा चिकित्सकले केही समयपछि उनीहरूलाई मृत घोषणा गरेका थिए।
दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ। घटनास्थल ट्राफिक प्रहरी पोस्ट नेमुवाबाट करिब चार किलोमिटर पूर्व–उत्तरतर्फ पर्ने स्थानमा रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। मृतक साह दुहबी जेसीज २०२४ का अध्यक्ष थिए भने झा दुहबी जेसीज २०१८ की अध्यक्ष तथा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष थिइन्।
जेसीज अभियानमा सक्रिय भूमिका निर्वाह गरेका दुवै व्यक्तिको असामयिक निधनले जेसीज समुदायसहित सम्बन्धित क्षेत्र शोकमा डुबेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










Discussion about this post