काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा मौसममा परिवर्तन देखिएको जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा बाक्लो बादल लागेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहेको छ। यसैबीच बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै ठाउँमा हुस्सु लाग्ने सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने र लुम्बिनी, कर्णाली, सुदूरपश्चिमसहित कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। अन्य क्षेत्रहरूमा भने मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशका उच्च भू–भागमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना यथावत् रहेको महाशाखाले उल्लेख गरेको छ।










Discussion about this post