काठमाडौं — निर्वाचन सम्बन्धी तयारीका लागि अर्थ मन्त्रालयले हालसम्म कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोतमा सहमति दिएको जनाएको छ। मन्त्रालयको विवरण अनुसार यसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ।
२१ फागुनमा तय गरिएको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगलाई मात्रै विभिन्न चरणमा ठूलो रकम स्रोत सहमति प्रदान गरिएको छ। अर्थ मन्त्रालयले १८ कात्तिकमा आयोगलाई ४ अर्ब ९६ करोड रुपैयाँको स्रोत सहमति दिएको थियो भने २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ बराबरको सहमति दिएको तथ्यांक छ। यसरी आयोगले कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ स्रोत सहमति प्राप्त गरेको देखिन्छ।
निकासाको हिसाबले हेर्दा, आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो। हालसम्म निर्वाचन आयोगले मात्र ६ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरिसकेको उल्लेख छ।
निर्वाचन सुरक्षासम्बन्धी व्यवस्थापनका लागि सुरक्षा निकायहरूलाई पनि उल्लेखनीय बजेट स्रोत सहमति दिइएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ छुट्याइएको थियो। यस्तै, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ स्रोत सहमति प्रदान गरिएको थियो।
गृह मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबर स्रोत सहमति दिइएको छ। साथै, २० पुसमा नेपाली सेनालाई थप १ अर्ब ९४ करोड रुपैयाँको स्रोत सहमति उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ।









Discussion about this post