विराटनगर,– पूर्वी नेपालमा सादा पोशाकमा घुमुवा प्रहरी परिचालन अझै रोकिएको छैन, गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशनको बाबजुद। विशेषगरी मोरङ जिल्लामा तस्करी संवेदनशील क्षेत्र र खुला नेपाल–भारत सीमामा घुमुवा प्रहरी परिचालन भइरहेको भन्दै स्थानीय बासिन्दाले गम्भीर गुनासो उठाएका छन्।
मन्त्रालयले विगत केही वर्षदेखि सादा पोशाकमा सुरक्षाकर्मी परिचालनलाई पूर्ण रूपमा बन्देज लगाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले पनि देशभर घुमुवा प्रहरीमाथि कारबाही र सरुवाको प्रक्रिया अघि बढाउँदै आएको छ। पछिल्लो समय पचासभन्दा बढी घुमुवा प्रहरी कारबाहीमा परेका छन् भने धेरैलाई काठमाडौँ तानिएको छ।
तर मोरङ जिल्लामा यो प्रक्रिया व्यावहारिक रूपमा लागू भएको देखिँदैन। जिल्ला प्रहरी कार्यालयदेखि इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र सीमाप्रहरी युनिटसम्म सादा पोशाकमा घुमुवा प्रहरी परिचालित छन्। स्थानीय बासिन्दाले उनीहरू तस्करी नियन्त्रणभन्दा ‘सेटिङ’ र असुलीमा केन्द्रित भएको आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार कतिपय अवस्थामा घुमुवा प्रहरीलाई अपराध अनुसन्धान र फरार अभियुक्त पक्राउका लागि परिचालन गरिएको छ। तर व्यवहारमा उनीहरू अवैध व्यापार संरक्षण, होटल–क्यासिनो तथा यौन व्यवसायीबाट रकम असुलीमा संलग्न हुने गरेको जनाइएको छ।
विशेषगरी मोरङमा धेरै प्रहरी दशकौंदेखि घुमुवाकै रूपमा कार्यरत छन्। उनीहरूले व्यक्तिगत फाइदा मात्र नभई माथिल्लो निकायसम्म ‘हिस्सा’ पुर्याउँदै असुली गर्ने गरेको गुनासो स्थानीय स्तरमा व्यापक छ।
अहिलेको आरोपमा वरिष्ठ प्रहरी नायब निरीक्षक राजेन्द्र कटुवाल, प्रहरी सहायक निरीक्षक नवराज कार्की, सहायक हवल्दार उत्सव थापा लगायतका प्रहरीहरू छन्। वडा प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय रानी, सिजुवा, रंगेली, बेलबारी, उर्लाबारी लगायत क्षेत्रहरूमा लामो समयदेखि घुमुवा प्रहरी परिचालित छन्।
केही समयअघि उनीहरूको जिम्मेवारी खोसेर सरुवा गरिएको भए पनि हाल फेरि तिनै प्रहरीलाई घुमुवा जिम्मेवारी दिइएको आरोप छ। मोरङ प्रहरीका प्रवक्ता नायव उपरीक्षक हरिनन्दन चौधरीले भने मोरङमा घुमुवा प्रहरीमार्फत अवैध असुली वा गलत क्रियाकलाप नभएको दाबी गर्नुभएको छ।










Discussion about this post