सुनसरी। २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अप्रेन्टिसिप पूर्व विद्यार्थी (अल्मुनाइ) समिति गठन गरिएको छ। दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना दोस्रो अन्तर्गत सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सञ्चालन भइरहेको २४ महिने अप्रेन्टिसिप कार्यक्रममा सहभागी प्राविधिक शिक्षालयहरूमा गठन भएका अल्मुनाइ समितिहरूमध्येबाट प्रदेश स्तरीय समिति गठन गरिएको हो।
आज इटहरीमा सम्पन्न भेलाबाट आदर्श माध्यमिक विद्यालय, विराटनगरका अप्रेन्टिसिप पूर्व विद्यार्थी विक्रम कुमार साह सर्वसम्मत रूपमा अध्यक्ष (संयोजक) पदमा निर्वाचित हुनुभएको छ। भेलाले अन्य पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गर्दै ७ सदस्यीय प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन गरेको छ।
कार्यक्रममा इन्स्योर परियोजनाकी टिभेट संयोजक रेखा उप्रेतीले प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समितिको भूमिका राज्य तथा परियोजनाका लागि समान रूपमा महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले समितिले आगामी दिनमा सञ्चालन गर्न सक्ने सम्भावित गतिविधि तथा कार्ययोजनाका विषयमा समेत धारणा व्यक्त गर्नुभयो।
भेलामा सहभागी उम्मेदवारहरूले आ–आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए। सम्पूर्ण शिक्षालयहरूको प्रतिनिधित्व गर्दै मनमोहन स्मृति पोलिटेक्निकका इन्जिनियर श्री लोचन राज न्यौपानेले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) क्षेत्रमा विद्यमान समस्या र चुनौती समाधानमा यस समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिनुभयो।
नव-निर्वाचित अध्यक्ष विक्रम कुमार साहले २४ महिने अप्रेन्टिसिप कार्यक्रम अन्तर्गतका सबै प्रशिक्षार्थीहरूको पोर्टफोलियो निर्माणलाई प्राथमिकताका साथ सहजीकरण गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित सबैले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समितिको कार्यकाल दुई वर्ष रहनेछ।
दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना दोस्रो नेपाल सरकार र स्वीस सरकारबीचको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रम हो भने यसमा हेल्भेटास नेपालले प्राविधिक सहयोग प्रदान गरिरहेको छ।
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समितिका पदाधिकारी तथा सदस्यहरू:
१.विक्रम कुमार साह – आदर्श माध्यमिक विद्यालय, विराटनगर (संयोजक)
२.बिकाश चन्द्र राजबंशी – मोहनमाया प्राविधिक शिक्षालय (सदस्य सचिव)
३.सन्दिप गुरुङ – नरबहादुर कर्माचार्य पोलिटेक्निक, बिर्तामोड (सदस्य)
४.रबिना कुमारी मण्डल – सैलाजा आचार्य पोलिटेक्निक (सदस्य)
५.सुलेखा कुमारी मण्डल – सैलाजा आचार्य पोलिटेक्निक (सदस्य)
६.अन्जुम आरा – आदर्श माध्यमिक विद्यालय (सदस्य)
७.बसन्त कुमार मण्डल – महानगर बहुप्राविधिक शिक्षालय (सदस्य) चयन भएका छन् ।










Discussion about this post