चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गाउँपालिका स्तरीय अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि अजमल अख्तर आजादले गरेका हुन्।
कार्यक्रममा भाेक्राहा नरसिंह–४ का वडाध्यक्ष हारूण अंसारी अध्यक्षता गरेका थिए भने विशिष्ट अतिथि सुनिता कुमारी उराँवको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, वडा नम्बर १ का वडाध्यक्ष लक्षमण मेहता, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुदिन अंसारी र वडा नम्बर ८ का वडाध्यक्ष हाजी उस्मान अंसारी अतिथिका रूपमा सहभागी थिए।
उद्घाटन समारोहमा शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिना, स्वास्थ्य शाखा प्रमुख हिरालाल शाह, शिक्षा अधिकृत सन्तोष राउत, शिक्षा समिति सदस्य कृष्णकुमार बिष्ट तथा विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अजमल अख्तर आजादले खेलकुदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, यो अनुशासन, सहकार्य र नेतृत्व विकास गर्ने महत्वपूर्ण माध्यम हो। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको विकास हुन्छ, त्यसैले विद्यार्थी जीवनमा खेलकुद अपरिहार्य छ।” उहाँले यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडीहरूलाई उजागर गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा खेल क्षेत्रलाई थप प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
अध्यक्षता गरेका हारूण अंसारीले गाउँपालिकाले शिक्षा र खेलकुदलाई समान रूपमा प्राथमिकता दिँदै आएको उल्लेख गर्दै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने बताउनुभयो।
आयोजकका अनुसार प्रतियोगिता फागुन १ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।














Discussion about this post