इनरुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी जिल्लामा करिब ६४ प्रतिशत मतदान भएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा कूल ५ लाख ६० हजार ५४५ मतदाता रहेकामा ३ लाख ६६ हजार ६०० मत खसेको छ। चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. ३ मा सबैभन्दा बढी करिब ६७ प्रतिशत मतदान भएको छ भने क्षेत्र नं. १ मा सबैभन्दा कम करिब ५८ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ।
तथ्यांकअनुसार क्षेत्र नं. १ मा रहेका १ लाख ५० हजार ३६३ मतदातामध्ये ८७ हजार ६५१ जनाले मत दिएका छन्। त्यस्तै क्षेत्र नं. २ मा १ लाख ५८ हजार ९१० मतदातामध्ये १ लाख २ हजार ४ मत खसेको छ। क्षेत्र नं. ३ मा १ लाख ४३ हजार ३०२ मतदातामध्ये ९५ हजार ८३४ जनाले मतदान गरेका छन् भने क्षेत्र नं. ४ मा १ लाख ३७ हजार ९७० मतदातामध्ये ८४ हजार ४६६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाभरिका मतदान केन्द्रमा कुनै अप्रिय घटना नघटी मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनको भनाइ छ। अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मुख्य संकलन केन्द्रतर्फ ल्याउने काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार सबै मतपेटिका संकलन भइसकेपछि तत्कालै सर्वदलीय बैठक बोलाइने तयारी गरिएको छ। उक्त बैठकमा मतगणनाको स्थान, समय तथा प्रक्रिया सम्बन्धी अन्तिम निर्णय गरिने जनाइएको छ।












Discussion about this post