काठमाडौँ । निर्वाचन आयोग ले ‘प्रतिनिधिसभा निर्वाचन’ सम्बन्धी अन्तिम प्रतिवेदन छिट्टै रामचन्द्र पौडेल समक्ष पेश गर्ने तयारी गरेको छ। आयोगका अनुसार चैतको पहिलो साताभित्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाइनेछ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित हुने दल तथा उम्मेदवारहरूको विवरण समेटेर प्रतिवेदन तयार पारिनेछ। प्रत्यक्षतर्फका १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ। हालसम्म प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले १२५ सिट जित्दै अग्रता लिएको छ। त्यसपछि नेपाली कांग्रेस ले १८, नेकपा एमाले ले ९, नेपाल कम्युनिस्ट पार्टी ले ८, श्रम संस्कृति पार्टी ले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ सिट जितेका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा महावीर पुन पनि निर्वाचित भएका छन्।
समानुपातिक प्रणालीअन्तर्गतको मतगणना मंगलबार साँझसम्म सक्ने लक्ष्य आयोगले राखेको छ। यस प्रणालीमा कुल १ करोड ७७ लाख ७११ मत खसेको बताइएको छ भने समाचार तयार पार्दासम्म करिब १ करोड ५० लाख मत गणना भइसकेको छ।
यदि आजै मतगणना सकिएमा आयोगले बुधबार (फागुन २७) राजनीतिक दलहरूलाई समानुपातिकतर्फ सांसद बन्नेहरूको नामावली पठाउन औपचारिक पत्राचार गर्नेछ। प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कानुनअनुसार दलहरूलाई यस्तो सूची बुझाउन ३ दिनको समय दिनुपर्ने व्यवस्था छ। त्यसअनुसार दलहरूले फागुन ३० सम्म समय पाउनेछन्। फागुन महिनामा ३० दिन मात्र हुने भएकाले दलहरूले चैत १ गतेसम्म आफ्नो कोटामा पर्ने समानुपातिक सांसदहरूको सूची आयोगलाई बुझाउनेछन्।
त्यसपछि आयोगले प्राप्त सूचीको अध्ययन गरी संविधान तथा कानुनअनुसार तोकिएका समावेशी ‘क्लस्टर’ मिलेको/नमिलेको जाँच गर्नेछ। यदि कुनै त्रुटि भेटिएमा सम्बन्धित दललाई सुधार गर्न थप २ दिनको समय दिइने आन्तरिक तालिका आयोगले बनाएको छ।
दलहरूले त्रुटि सच्याएर पुनः सूची पठाएपछि आयोगले कानुनी प्रक्रिया पूरा भएको सुनिश्चित गरी छिट्टै समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ। आयोगका अनुसार छिटोमा चैत ३ गते र ढिलोमा चैत ५ गतेसम्म प्रमाणपत्र वितरण गरिने सम्भावना छ।
यस प्रक्रिया पूरा भएपछि आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी अन्तिम प्रतिवेदन तयार पारेर एक–दुई दिनभित्र राष्ट्रपतिसमक्ष पेश गर्नेछ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार चैतको पहिलो साताभित्र प्रतिवेदन बुझाउने लक्ष्य राखिएको छ।










Discussion about this post