काठमाडौं । पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका मुद्दा तीव्र रूपमा बढ्दै गएका छन्। सामान्य पारिवारिक मतभेददेखि वैदेशिक रोजगारी, आर्थिक दबाब, सामाजिक परिवर्तन र डिजिटल जीवनशैलीका कारण दाम्पत्य सम्बन्ध टिकाउन कठिन हुँदै गएको सरोकारवालाको भनाइ छ।
चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौं जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ। यस्तै, विसं २०७६ देखि हालसम्म फर्छ्यौट हुन बाँकी मुद्दा एक हजार ९४७ रहेको अदालतको तथ्याङ्क छ।
सर्वोच्च अदालतको २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार मुलुकभर ४२ हजार ७३९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए। सो आर्थिक वर्षमा सर्वोच्च अदालतमा ११९ र उच्च अदालतमा एक हजार ५४१ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए।
प्रतिवेदनअनुसार सोही आर्थिक वर्षमा ३३ हजार ५० मुद्दा फर्छ्यौट भएका छन् भने नौ हजार ६८९ मुद्दाको छिनोफानो हुन सकेन। जिल्ला अदालतबाट मात्रै ४१ हजार ७९ मुद्दा फर्छ्यौट भएको उल्लेख छ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ४० हजार ३२० मुद्दा दर्ता भएकामा ३१ हजार ७५२ मुद्दा फर्छ्यौट भएको थियो भने आठ हजार ५६८ मुद्दा टुंगिन बाँकी रहे।
यी तथ्याङ्कले पछिल्लो समय सम्बन्धविच्छेदको प्रवृत्ति एक प्रकारको सामाजिक ट्रेन्ड जस्तै बढ्दै गएको संकेत गर्छ।
बैंकिङ कसुरपछि दोस्रोमा सम्बन्धविच्छेद
काठमाडौं जिल्ला अदालतका सूचना अधिकृत दीपक श्रेष्ठका अनुसार अदालतमा बैंकिङ कसुर र चेक अनादरपछि सबैभन्दा धेरै दर्ता हुने मुद्दा सम्बन्धविच्छेदका हुन्।
उनका अनुसार कतिपय अवस्थामा श्रीमान्–श्रीमतीबीच सामान्य विवाद वा घरायसी असमझदारी हुनासाथ पनि सम्बन्धविच्छेदको माग गर्दै अदालत पुग्ने प्रवृत्ति देखिएको छ।
“कतिपय परिवारमा सामान्य खटपट हुँदा पनि सम्बन्धविच्छेदका लागि अदालत आउने क्रम बढेको छ,” उनले भने।
डिजिटल युगले बढायो अपेक्षा, घटायो सहनशीलता
विशेषज्ञहरूका अनुसार डिजिटल युगले सम्बन्धको परिभाषा नै बदलिदिएको छ। सामाजिक सञ्जाल, मोबाइल एप र अनलाइन जीवनशैलीका कारण दाम्पत्य सम्बन्धमा विश्वास, गोपनीयता र धैर्य कमजोर हुँदै गएको बताइन्छ।
सामाजिक सञ्जालमा देखिने ‘आदर्श जोडी’को जीवनशैलीको नक्कल गर्ने, सानो विवादलाई ठूलो बनाउने तथा ‘स्वतन्त्रता’लाई प्राथमिकता दिने सोचले पनि सम्बन्धविच्छेदको संख्या बढाइरहेको कानुन व्यवसायीहरू बताउँछन्।
अधिवक्ता गोकुल दवाडी वैदेशिक रोजगारी, आर्थिक अभाव र पारिवारिक तनाव मुख्य कारण भएको बताउँछन्।
उनका अनुसार अदालत पुगेका सबैको सम्बन्धविच्छेद भइहाल्छ भन्ने होइन।
“रिट निवेदन लिएर अदालत पुगेकाहरू मध्ये करिब ५० प्रतिशत जतिको सम्बन्धविच्छेद हुन्छ। केही दम्पती मेलमिलाप गरेर फर्केका उदाहरण पनि छन्,” उनले भने।
डिपेन्डेन्ट भिसा र ‘हत्तारको विवाह’
अध्ययन र रोजगारीका लागि ‘डिपेन्डेन्ट भिसा’मा विदेश जाने योजना बनाएका कतिपय युवा जोडीले विवाह गरेको केही महिनामै सम्बन्धविच्छेदका लागि अदालत धाउने गरेको पाइएको छ।
सूचना अधिकृत श्रेष्ठका अनुसार विदेश जाने तयारीमा हतारमा प्रेमविवाह गर्ने, परिवारलाई थाहा नहुने तथा सामाजिक स्वीकृति नपाएका कारण पनि सम्बन्ध टुट्ने गरेका छन्।
वृद्ध उमेरमा पनि सम्बन्धविच्छेद
सम्बन्धविच्छेदको प्रवृत्ति युवा पुस्तामा मात्रै सीमित छैन। नातिनातिना खेलाउने उमेरका वृद्ध दम्पती पनि सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेको कानुन व्यवसायी बताउँछन्।
अधिवक्ता सृजना कँडेलका अनुसार ५० वर्षमाथिको उमेर समूहमा पनि सम्बन्धविच्छेदका घटना उल्लेख्य छन्।
“केही दिनअघि मात्रै धादिङकी ७० वर्षीया महिला र ७३ वर्षीय पुरुषको सम्बन्धविच्छेद भयो,” उनले भनिन्, “श्रीमानले पहिले पनि दुईवटा सम्बन्धविच्छेद गरिसक्नु भएको रहेछ।”
उनका अनुसार १५ वर्षअघि अदालतमा सम्बन्धविच्छेदका मुद्दा न्यून हुन्थे, अहिले भने संख्या ह्वात्तै बढेको छ।
सहमतिमा दुई दिनमै फैसला
काठमाडौं जिल्ला अदालतले दुवै पक्ष सहमत भएको अवस्थामा सम्बन्धविच्छेदका मुद्दामा दुई दिनमै निर्णय सुनाउन सक्ने व्यवस्था मिलाएको छ।
तर बच्चा, अंश, मानाचामल र सम्पत्तिको विषयमा विवाद हुँदा मुद्दा लम्बिने गरेको देखिन्छ। कानुनी व्यवस्थाअनुसार सम्बन्धविच्छेदको मुद्दा परेपछि अर्को पक्षलाई २१ दिन म्याद दिई जानकारी गराइन्छ। जवाफ आएपछि मेलमिलापका लागि पठाइन्छ र आवश्यक परे एक वर्षसम्म छलफल गराउन सकिने व्यवस्था छ।
अंश नदिन खोज्ने प्रवृत्ति पनि
अदालतमा आउने कतिपय श्रीमानले “श्रीमतीसँग बस्न सक्दिनँ” भन्दै सम्बन्धविच्छेद माग्ने गरेका छन् भने केहीले अंश दिन नपर्ने भन्दै निवेदनमा मागदाबी गरेको पाइएको अदालत स्रोत बताउँछ।
अधिवक्ता शरदचन्द्र गौतमका अनुसार विवाहलाई पहिले जस्तो धार्मिक बन्धन नभई करार सम्झौता जस्तै बुझ्ने सोच बढ्दै गएको छ।
“पहिलेजस्तो सात जन्मसँगै बस्ने संस्कार घट्दै गएको छ। विवाहलाई करारका रूपमा लिने प्रचलन बढेको छ,” उनले भने।
वैदेशिक रोजगारीले बढायो दूरी र शंका
अधिवक्ता ऋषिकेश श्रेष्ठका अनुसार वैदेशिक रोजगारीले श्रीमान्–श्रीमतीसँगै बस्न कठिन बनाएको छ, जसले सम्बन्धमा शंका र दूरी पैदा गरेको छ।
उनले भने, “सम्पत्ति श्रीमतीको नाममा राख्ने, स्वतन्त्रताप्रति आशंका गर्ने र वैदेशिक रोजगारीका कारण समयमै संवाद नहुने कारण सम्बन्ध बिग्रँदै गएको छ। केही युवापुस्ता विदेश जान अदालती दर्ता विवाह गर्ने र पछि सम्बन्धविच्छेदमार्फत सम्बन्ध अन्त्य गर्ने प्रवृत्ति पनि देखिएको छ।”
अदालतमा देखिने पीडाका कथा
काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि आएकी एक युवतीले भनिन्,
“साथीमार्फत ऊसँग चिनजान भयो, प्रेमविवाह भयो। छोरी अहिले छ वर्षकी भई। म २२ वर्षकी भएँ। पहिले ऊ होटलमा काम गर्थ्यो, पछि काम छोड्यो। लागुऔषध सेवन गरेर हैरानी दिन थालेपछि सुरक्षित हुन सम्बन्धविच्छेदका लागि आएकी हुँ।”
यस्तै, भाइबुहारीको मुद्दाको तारेख लिन अदालत पुगेकी नुवाकोटकी एक महिलाले भनिन्,
“भाइ विदेश बस्थ्यो। घरायसी कुरा नमिलेर पाँच/छ वर्षदेखि बुहारीले घर छाडेर हिँडेकी छ।”
अदालत परिसरमै नाति च्यापेर बसेकी एक वृद्ध महिलाले भनिन्,
“म जेठी श्रीमती हुँ। यो उमेरमा श्रीमानले कान्छी ल्याएर बसेको छ। छोरो बाहिर छ, हामीलाई घरमा आएर कुटपिट गर्नुहुन्छ। अंश र मानाचामलका लागि दाबी गर्न आएकी हुँ।”
महिलाले दर्ता गर्दा छिटो निष्कर्ष?
अधिवक्ता राजन केसीका अनुसार सम्बन्धविच्छेदका मुद्दामा प्रेमविवाह, गरिबी, रोजगारी, पढाइमा अन्तर तथा सामाजिक अवस्थाले प्रभाव पारेको देखिन्छ।
उनका अनुसार महिलाले मुद्दा दर्ता गरेमा अदालतले पीडित भएको अनुमान गर्दै छिटो निष्कर्षमा पुग्ने प्रयास गर्ने गर्छ। पुरुषले हालेको अवस्थामा फैसला हुने संख्या तुलनात्मक रूपमा कम देखिन्छ।
“न्यायालयको मान्यता परिवार टुटाउने होइन, सकेसम्म जोड्ने हो। त्यसैले मेलमिलापको सम्भावना खोजिन्छ,” उनले भने।
स्वतन्त्रताको खोजी कि विकृति?
सम्बन्धविच्छेदको बढ्दो तथ्याङ्कले एउटा गम्भीर प्रश्न पनि उठाएको छ।
यो कानुनी अधिकार प्रयोग गरेर स्वतन्त्रता खोज्ने चेतनाको परिणाम हो कि स्वतन्त्रताका नाममा बढ्दै गएको सामाजिक विकृति?
विशेषज्ञहरूका अनुसार यसको जवाफ पत्ता लगाउन समाजशास्त्रीय दृष्टिले गहिरो अध्ययन आवश्यक छ। तर स्पष्ट कुरा के हो भने डिजिटल युगले सम्बन्धको गतिशीलता तीव्र बनाएको छ, जसले धैर्य, सहनशीलता र संवादको ठाउँ कम गर्दै लगेको छ।
सम्बन्ध टिकाउन चाहने दम्पतीका लागि अहिलेको चुनौती प्रेमभन्दा बढी विश्वास, समझदारी र जिम्मेवारी भएको देखिन्छ।











Discussion about this post