इनरुवा । सुनसरीमा शुक्रबार चैत २५ गतेदेखि २०७९ को बैशाख १८ गतेसम्म टाईफाईड रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । टाईफाईड रोग विरुद्ध खोप अभियान २०७८/०७९ अन्तर्गत अभियान सञ्चालनको तयारी पुरा भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयले बिहीबार जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रका प्रतिनिधीलाई अभिमुखीकरण गराउँदै अभियान बारे जानकारी गराएको हो । देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गते भित्र सम्पन्न गर्ने भएकाले सोही अनुसार जिल्लाका १२ वटै पालिकामा तालिका बनाएर सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईले बताउनुभयो । प्रसाईका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई १ मात्रा खोप लगाइने छ । जिल्लाका १२ पालिकाका १२४ वडाका दुई लाख २४ हजार ३ सय १६ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको बताउनुभयो । नियमित खोप मार्पmत १५ महिनाको उमेरका सबै बालबालिकाहरुलाई १ मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन हुने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीेले समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि खोप अभियानले मद्धत गर्ने बताउनुभयो । खोप कार्यक्रम महत्वपूर्ण रहेकाले सरोकारबाला सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नुभयो । मानिस स्वस्थ भएमा हरेक काम गर्न सक्ने भएकाले स्वस्थ हुनका लागि खोप अनिवार्य रहेको बताउनुभयो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाभरी एकैसाथ अभियानका रुपमा टाईफाईड रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएकोले सबैमा यो अभियानलाई सफल पार्न अपिल गर्नुभयो । प्रजिअ यादवले यो समय किसानका लागि व्यस्तता, विधार्थीको परीक्षा, नेताका लागि निर्वाचनको चटारो भएको भएपनि त्यसलाई निन्तरता दिदै टाईफाईड रोग विरुद्धको खोप अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत उर्मिला राईले खोप सञ्चालनका लागि जिल्लाभरीमा ६९५ वटा खोप केन्द्र, एक हजार ३११ जना स्वास्थ्यकर्मी, एक हजार ३९५ जना स्वास्थ्य स्वयमसेविका परिचान हुने जानकारी दिनुभयो ।
जिल्लाका २०० भन्दा बढी विधार्थी भएका सबै विद्यालयमा खोप केन्द्र रहने व्यवस्था मिलाइएको छ । अभिमुखिकरण कार्यक्रममा उधोग बार्णिज्य संघका इनरुवा अध्यक्ष विरेन्द्र कुमार साह, प्रहरी उपरीक्षक संजयसिंह थापा, जिल्ला समन्वय समितिका अचुत भण्डारी, जिल्ला अस्पताल इनरुवाका प्रमुख डा. देवराज घिमिरे, स्वास्थ्य कार्यालयका प्रशासन प्रमुख राजकुमार मेहता, नेपाल रेडक्रस सोसाइटीका विष्णुदेव मण्डल लगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रममा दिएको जानकारी अनुसार जिल्लामा पानी र खाना जन्य रोगको संक्रमण मध्ये १० प्रतिशत बढीलाई टाइफाइड हुने गरेको छ ।
अभियानको क्रममा नियमित खोप कार्यक्रमलाई सुदृढीकरण गरी खोपको उपभोग दर बृद्धि गर्ने, अभियानको क्रममा २ बर्ष मुनिका बालबालिकाको नियमित खोपमा दादुरा–रुबेला खोपको दोश्रो मात्रा लगायत अन्य छुट खोपको पहिचान गर्ने, खोप अभियानपछि २ वर्ष मुनिका बालबालिकाहरूको छुट खोप प्रदान गरी पूर्ण खोप सुनिश्चितता र दिगोपनाको भएको एकिन गर्ने, नियमित खोप कार्यक्रम मार्पmत एकीकृत रुपमा सरसफाइ प्रवद्र्धन कार्यक्रम निरन्तर संचालन गर्ने उद्धेश्यले सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ । अभियानमा १५ महिना देखि २३ महिनाको बच्चालाई बाँया तिघ्राको बिच बाहिरी भागमा र २ वर्ष देखि १५ वर्षका व्यक्तिलाई बाँया पाखुराको बीच बाहिरी भागमा खोप लगाइने छ ।
नियमित खोपमा १५ महिनामा दादुरा रुवेला दोस्रो मात्रा सँगै बांया तिघ्राको विच बाहिरी भागमा लगाइने छ । लक्षित संख्या मूख्यरुपमा करिव ८० प्रतिशत विद्यालयमा रहने भएकाले अभियान संस्थागत वा साुमदायिक विद्यालयमा सञ्चालन हुनेछ । बाह्य खोप केन्द्र भने विद्यालय नभएका वा कम भएका वडाहरुमा आवश्यकता अनुसार राखिने जनाएको छ । नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब ४ लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेको छ । विगत ३ वर्षको तथ्याङ्क अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरूमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको र अस्पताल भर्ना हुने विरामीहरू मध्ये चौथो कारण यहि रोग रहेको पाइएको छ । यो अवस्थाको आधारमा नेपालमा टाइफाइड रोगको संक्रमण र जोखिमको उच्च दर रहेको छ । टाइफाइड संक्रमण सबै उमेर समूहमा हुने तर १५ वर्ष मुनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमण भएको छ । पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार, प्रति १ लाख जनसंख्यामा १,०६२ मा टाइफाइड संक्रमण भएको र १५ वर्ष मुनिका प्रति १ लाख जनसँख्यामा १० हजार ९६० व्यक्तिलाई टाइफाइड संक्रमण भएको पाईएको छ ।
Discussion about this post