सुनसरी । स्थानीय तहको चुनाव आउन एक महिना समय बाँकी छ । देशभर एमाले, नेपाली कांगेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा लगायतका पार्टीले गाउँगाउँ तथा टोलटोलमा सक्रियता बढाएको छ । विभिन्न पार्टीका प्रतिनिधिहरुले स्थानीय निर्वाचनको लागि उम्मेदवारी घोषणा गरिहेका छन् ।
सुनसरीमा विभिन्न राजनीतिक दलका पदाधिकारी तथा सदस्यहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैबीच भोक्राहा नरसिंह गाउँपालिकामा कुन पार्टीबाट क–कस्ले टिकट पाउलान् ? र कुन पार्टीले बाजी मार्ला ? चर्चाको बिषय बनेको छ । अगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुन पार्टीले भोक्राहा नरसिंह गाउँपालिकामा बाजी मार्ला भनेर राजनीतिक शुभेच्छुक तथा सर्वसाधारणले हारजीतको विश्लेषण गर्न थालेका छन् ।
तत्कालीन संघिय समाजवादी फोरम नेपाल र जसपाको हाल
गत २०७४ को स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्षमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट अध्यक्षमा महेन्द्र प्रसाद यादवले विजयी भएका थिए । तत्कालीन फोरमबाट अध्यक्ष र उपाध्यक्ष सहित ३ जना वडा अध्यक्ष निर्वाचित भएका थिए । तत्कालीन फोरमबाट निर्वाचित भएका गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र १ जना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । यसैगरी तत्कालीन फोरम अहिले दुई समुहमा विभाजित भएपछि मधेसवादी दलहरुलाई चुनाव जित्न सकस हुने देखिन्छ ।
नेपाली कांग्रेसको अवस्था ?
नेपाली कांग्रेसको गढ मानिएको भोक्राहा नरसिंह गाउँपालिकामा पार्टीको आन्तरिक कलहका कारण गत स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नु परेको थियो । गत निर्वाचन देखी हालसम्म आइपुग्दा नेताहरुमा मनमुटाव रहेको प्रष्ट देख्न सकिन्छ । नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकापार्टीमा नेताहरुबीच मनमुटाव कायमै रहेको कारणले पुनः पालिकामा हार व्यहोर्नुपर्ने अवस्था देखिन्छ ।
अन्य साना दलहरुको अवस्था ?
नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राप्रपा, लोसपा पार्टीको बलियो संगठन नभएको कारण र बलियो जनाधार नभएकोले यी साना दलहरुलाई चुनाव जित्न सकस हुन्छ । यी पार्टीहरुले नेपाली काङ्ग्रेस र नेकपा एमालेको अलिकति मतलाई काट्न सक्ने आंकलन गरेको छ ।
नेकपा एमालेको अवस्था ?
भोक्राहा नरसिंह गाउँपालिकामा तत्कालीन संघिय समाजवादी फोरमबाट निर्वाचित अध्यक्ष यादव एमालेमा प्रवेश गरेपछि नेकपा एमाले झनै बलियो बनेको छ । यस अघि गाउँपालिकामा दोस्रो बलियो जनाधार भएको पार्टी एमाले भएको थियोे भने अध्यक्ष यादवसहितको अन्य नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेपछि संगठनको हैसियतले नेकपा एमाले पहिलो ठुलो पार्टी बनेको हो । पहिलो ठुलो पार्टी बनेकै कारण र विकास प्रेमी निर्वाचित अध्यक्ष यादव प्रवेश गरेकै कारण नेकपा एमाले पालिकामा जित्ने सम्भावना बलियो भएको छ ।
एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा ?
गत निर्वाचनमा गाउँपालिकाको ८ वटा वडा मध्ये दुईवटा वडामा नेपाली काङ्ग्रेस र तीनवटा वडामा जित हासिल गर्न सफल भएका थिए । आगामी चुनावमा एक्लाएक्लै चुनाव लड्ने हो भने भोक्राहा नरसिंह गाउँपालिकामा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसको गढ मानिएको पालिका भएको कारणले एमालेले हाराउँदै गाउँपालिकामा जित हासिल गर्न सजिलो भने छैन । त्यस्तै एमालेलाई कांग्रेसले हराउन पनि त्यती सहज छैन । यद्यपि पनि गाउँवासी, मतदाता, चर्चा र परिचर्चाको तथ्यांकलाई केलाउदा नेकपा एमालेले पालिकामा जित्ने सम्भावना बढी देखिन्छ ।
३ वटा वडामा एमाले, २ वटा वडामा कांग्रेस र ३ वटा वडा सहित पालिकामा फोरम ?
भोक्राहा नरसिंह गाउँपालिकाको ८ वडामध्ये एमालेले १, ५ र ८ मा आफ्नो कब्जा बाजी मारेको थियो । कुनै समय राप्रपा र नेपाली काङ्ग्रेसको राम्रो छाप थियो । दुबै पाटीले सामान्य चुनौती प्रस्तुत गरेपनि विजयी हासिल गर्न सकेन ।
यसैगरी नेपाली काङ्ग्रेसले वडा २ र ४ मा जित्न सफल भएका थिए । नेपाली काङ्ग्रेसको गढ मानिएको भोक्राहा नरसिंह गाउँपालिकामा दुईवटा वडा मात्रै जित्न सफल भएको थियो ।
त्यस्तै तत्कालीन संघीय समाजवादी फोरम नेपालले पनि ३ वटा वडामा बाजी मार्न सफल भयो । ३ वटा वडामा चुनाव जित्न सफल भएपनि अहिले फोरम नेपाल पार्टी दुई समुहमा विभाजन भएपछि पार्टी कम्जोर भएको कारणले अगामी चुनावमा सकस हुने देखिएको छ । पार्टी विभाजन भएपछि निर्वाचित जनप्रतिनिधिहरु अन्य दल रोज्ने तयारीमा छन् ।
भोक्राहा नरसिंह गाउँपालिकामा गत २०७४ को स्थानीय तहको चुनावी मत परिणामलाई आधार मान्ने हो भने अध्यक्ष र उपाध्यक्षमा विजयी भएका तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले दोस्रो कांग्रेस र तेस्रो एमालेबीचको उम्मेदवार भन्दा दोब्बर मत ल्याएर विजयी भएका थिए । अध्यक्षमा फोरमका उम्मेदवारले ३ हजार ५ सय २८ ल्याएर विजयी भएका थिए भने एमालेका उम्मेदवारले १ हजार ४ सय ९२ र नेपाली कांग्रेसका उम्मेदवारले १ हजार ९ सय ९३ मत ल्याएर पराजित भएका थिए ।
यसैगरी उपाध्यक्षमा पनि फोरम नेपालका उम्मेदवारले ३ हजार ३ सय ४३ मत ल्याएर विजयी भएका थिए भने एमालेका उम्मेदवारले १ हजार ३ सय ३२ र नेपाली काङ्ग्रेसका उम्मेदवार अन्जु देवी मेहताले २ हजार ३ सय ५ मत ल्याएर पराजित भएको थियोे । माओवादी र राप्रपाको भने लामो नै अन्तर छ ।
Discussion about this post