काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतीपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन्।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले ओली सरकारको कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने बताए।
प्रवक्ता श्रेष्ठले समाजवादउन्मुख समावेशी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाड्ने पनि उनले बताए।
निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिन ढिला गरेको भन्दै उनले असन्तुष्टि पनि जनाए। तर पनि ढिलोचाँडो संविधान र कानुनअनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको पनि उनले बताए।
सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानुनी लडाइँसमेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।
यस्तै पार्टी एकीकरणका काम छिट्टै पूरा गर्ने र त्यसअन्तर्गत प्रदेश कमिटीका पदाधिकारीको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पूरा गर्ने विषय केही दिनभित्र पूर्ण गरिने र त्यसको निम्ति प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारबारे तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्षद्वयले गराएका उनले बताए।
Discussion about this post