इनरुवा । सुनसरीमा गाँजा तस्करी गर्नेहरुकालागि सप्तकोशी नदीको वहाव सहज रुटका रुपमा देखिएको छ । प्लाष्टिकका बोरामा पोको पारी लुकाएर नदीको वहाव सँगै ल्याइने गाँजा प्रहरीले तटीय क्षेत्रबाट पटकौं पटक बरामद गरिसकेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेश चतराले कोशीको मध्य भागमा पर्ने २ नम्बर भंगालो भनिने खयर टापुको बगरबाट ३ सय ५० किलो गाँजा बरामद गरेसँगै गाँजा तस्करकालागि सुरक्षित मानिदै आइएको कोशी नदीको रुट यथावत रहेको पुष्टि गरेको छ ।
कोशी नदी र आसपासको क्षेत्रबाट सुरक्षाकर्मीको टोलीले यसअघि समेत पटकपटक गाँजा बरामद गरिसकेको छ । पहाडबाट नदीमा बगाएर ल्याइने बाँस मुनी लुकाएर गाँजा भित्र्याइने गरेको यथार्थ यस अघिका प्रहरीको बरामदीका घटनाक्रमले देखाई सकेको छ ।
पछिल्लो पटक बरामद भएको परिमाण र कोशीको मध्य भागको बगरमा खाल्डो भनी लुकाइएको गाँजाले समेत तस्कर तथा कारोबारीले अझै पनि कोशी नदीको बहावलाई सुरक्षित रुटका रुपमा प्रयोग गर्दै आएको यथार्थ खुलाएको छ । जसलाई जिल्ला स्थित सुरक्षा निकायले समेत स्विकारेको छ ।उदयपुर, भोजपुर, धनकुटा लगायतका पहाडी भेगबाट कोशी नदी हुँदै सुनसरी ल्याएर गाँजा लुकाइने र मौका छोपी भारत तर्फ तस्करी हुने गरेको सुरक्षा निकायको ठहर छ । तस्करी नियन्त्रणलाई मध्यनजर गर्दै कोशी नदी आसपास सहित सीमावर्ती क्षेत्रमा कडाई गरिएसँगै बरामद तथा पक्राउ पर्ने क्रम बढेको उसको भनाई छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका प्रमुख एसपी बिक्रम होमागाईले पछिल्लो पटक बुधवार ११ वटा प्लास्टिकका बोरामा प्याक गरिएको गाँजा बगरमा खाल्डो खनी लुकाइएको अवस्थामा बरामद भएको बताए । उनले तस्करीको तरिका हेर्दा कोशीको रुट प्रयोग भएको देखिएको बताए ।
विशेष सूचनाका आधारमा बगरमा लुकाइएको गाँजा फेला पारेको बताएका एसपी होमागाईले गाँजा कहिले र कसले लुकाएको भन्ने विषय भने खुल्न नसकेको बताए । उनले बरामद परिमाण र तस्करीको तरिका हेर्दा ठूलै कारोबारीको संलग्नता हुन सक्ने आशंका जताए ।सशस्त्र प्रहरीले यसअघि समेत सुनसरीबाट ठूलो परिमाणको तयारी गाँजा बरामद गरिसकेको छ । एसपी होमागाई नेतृत्वको टोलीले भोक्राहाबाट बैशाख १६ गते राती १ सय ४८ किलो गाँजा बरामद गरेको थियो ।
सो क्रममा गाँजा छुटाउन प्रलोभन दिई साढे ५ लाख बोकेर मध्यराती आइपुगेका दुई व्यक्तिलाई सशस्त्रले नियन्त्रणमा लिएको थियो ।सुनसरीमा गाँजा सहित तस्करीमा संलग्नलाई नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बलले बेग्लाबेग्लै स्थान र परिणाम साथ पक्राउ गर्दै आएको छ । जस क्रममा ठूला कारोबारी समेत फन्दामा परिसकेका छन ।
नोट: सशस्त्र प्रहरी उपरीक्षकको थर चैं होमागाई नै हो है ।
Discussion about this post