इनरुवा । युवतीलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा नेपाल प्रहरीले सुनसरी इटहरीका एक युवक सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी ७ का ३० वर्षीय सञ्जीव दर्जी, हलेसी ७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, मेलुङ ५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा, सूर्यविनायक ९ भक्तपुरकी १९ वर्षीय निकिता केसी र ढुसेनी ३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार रहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरू गिरोह रहेकाले उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषहरूलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने, गराउने गरेका थिए ।
त्यसपछि ती व्यक्तिहरुको घर, कार्यालय तथा सवारी साधन लगायतका सम्पूर्ण विवरण राख्ने गरेका थिए ।
उनीहरूले केटीको नक्कली पारिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरेर मोलमोलाई गरी हैरानी दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कोइरालाले बताउनुभयो ।
पक्राउ परेकाहरूलाई आपराधिक विश्वासघातको कसूर अन्तरगत कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post