इनरुवा । केही समययता बढेको चिसोका कारण सुनसरीमा विपन्न परिवारको जनजीवन कष्टपूर्ण बन्दै गएको छ ।
पुसको सुरूवातसँगै सुनसरी सहित प्रदेश १ का जिल्लाहरुमा अत्यधिक चिसो बढेपछी यहाँका गरिव, बिपन्न परिवारका मानिसहरुको जिवन कष्टपूर्ण बन्न पुगेको छ । शीतलहरसँगै चिसो अत्याधिकबढेपछी जनजीवन उनिहरुको जिवन अत्यन्त कष्टकर बनेको भएपनि सम्बन्धित निकायको यो बिषयमा ध्यान पुग्न सकेको छैन् । चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरुको अस्पतालहरुमा चाप बढेको छ । अत्यधिक चिसोका कारण रुघाखोकी, निमोनिया, स्वासप्रश्वास, घाँटीको संक्रमणजस्ता रोगले सताउने गरेको छ । चिसोको समयमा कारोना संक्रमण पनि बढ्न सक्ने भएकाले नवजात शिशु, सुत्केरी, बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरुको बढी ख्याल राख्नुपर्ने हुन्छ ।
विपन्नताकै कारण चिसोबाट बच्ने उपाय अवलम्बन नगर्दा सुनसरीका दलित, मरिक, राम, मुसहर समुदाय बढी पीडित बन्न पुगेका छन् । विपन्न समुदायका परिवारले सधैँभरि अभावको जीवन बिताउनुपर्ने नियति त छँदैछ, यतिखेर चिसोका कारण जनजीवन निकै कष्टकर बन्न पुगेको छ । सुनसरीमा बिपन्न परिवारका मानिसहरुले चिसोबाट बच्नका लागि रातभर आगोको भरमा जाग्राम बस्नुपर्ने बाध्यता छ । चिसो मौसमको पर्याप्त लुगाा र ओढ्ने–ओछ्याउने कपडाको अभावमा आगोकै भर पर्नुपर्ने बाध्यता छ । विपन्न परिवारमा शरीर ढाक्ने लुगाको अभाव रहेको कारण यो समयमा सहयोगी निकाय तथा हातहरुको खाँचो पनि उत्तिकै परेको छ । प्राकृतिक प्रक्रियाका कारण चिसो कम गर्न नसकिए पनि अन्य सावधानीका उपायबाट उत्पन्न नकारात्मक प्रभाव भने अवश्य कम गर्न सकिन्छ । त्यसैले चिसोको मौसममा विभिन्न सामाजिक संघसंस्था, सरकारी निकायले विपन्न परिवारलाई सहयोग गर्न अग्रसर हुनुपर्छ । अहिलेको प्रमुख आवश्यकता चिसोबाट कसरी बच्ने र बचाउने भन्ने नै हो । चिसोको समयमा पनि खाली खुट्टा हिँड्नुपर्ने र शरीरमा न्यानो कपडासमेत लगाउन नसक्ने दयनीय विपन्न परिवारलाई मानवीय सहयोग जस्तो ठूलो पुण्य कार्य केहीमा प्राप्त हुँदैन । जाडोकै कारण ज्यान जाने स्थिति उत्पन्न नहोस् । त्यसैले समयमै सम्बन्धित निकायले कार्य गर्न जरुरी देखिन्छ ।
Discussion about this post