धरान । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन ।
मोरङ रतुवामाई नगरपालिका -४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई-२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम रहेका छन ।
भारतिय नम्बर प्लेट BR37U 5823 नम्बरमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा १२६ ग्राम १४ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसै गरी झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । सोमवार बेलुका ६ बजे धरान उप-महानगरपालिका-१७ का २४ बर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका-२ का २८ बर्षीय अरुण सुब्बालाई ५० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।
यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का २० बर्षीय समिर तामाङ र २२ बर्षीय नविन लिम्बुलाई १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर सहित सोमवार अपरान्ह ५ बजे बेलडागीबाट पक्राउ गरेको हो ।
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धाशान्ति गाउँपालिका-४ का २२ बर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमवार दिउँसो माझिलाई किरात चोकबाट पक्राउ गरेको हो ।
यस्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-५ का १५ बर्षीय रमेश राजवंशीलाई लागुऔषध लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरि जम्मा ९० सिसि सहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको छ। लागुऔषध सहित पक्राउ परेका आठै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post