इनरुवा । सुनसरी जिल्लाको ग्रामिण क्षेत्रमा बसोबास गर्ने सुकुमबासी तथा गरिब समुदायको बाल बालिकाहरुको चिसोको कारण जनजीवन कष्टकर बन्दै गएको बताएको छ ।
पुष महिनाको आगमन सँगै मौसममा आएको अस्वभाविक परिवर्तनले तराईमा चिसो ह्वात्तै बढेको छ ।
बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि सुनसरीका दक्षिणबर्ती क्षेत्रमा बसोबास गर्ने सुकुमबासी तथा गरिव सामुदायको जनजीवन प्रभावीत बनेको हो ।
जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका , हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, कोशी गाउँपालिका, बर्जु गाउँपालिका र गढी गाउँपालिकामा बसोबास गर्ने सुकुमबासी तथा गरिव सामुदायलाई चाडो काट्न न्यानो लुगा नभएपछि दाउराको आगो (घुर) बालेर बालबालिकाहरुलाई राख्ने गरेको भोक्राहा नरसिंहका स्थानीय पप्पु यादवले बताए ।
स्थानीय यादवका अनुसार तराईका विभिन्न जिल्लामा बढ्दै गएको चिसोसँगै सुनसरीको भोक्राहा नरसिंह वार्ड नं. ५,६,७ र ८ मा पनि शीतलहरका कारण रातभर आगो (घुर) तापेर बस्न बाध्य भएको बताए ।
करिब तिन चार दिन देखी जिल्लामा चिसोले आफनो रुप देखाए पनि आज शीतलहरको वर्षा नै हुन थालेको छ ।
बाक्लो हुस्सु, चिसो हावा र शीतलहरका कारण सुनसरी जिल्लाको समेत जनजीवन निक्कै प्रभावित भएको छ ।
शीतलहरको कारण गाउँबस्ती तथा सहरबजारमा मानवीय चहलपहलमा कमी आएको छ भने सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ ।
शीतलहरसँगै बढेको चिसोले जिल्लाका मानिसका साथै वस्तुभाउ र बालीनाली पनि प्रभावित भएको छ । शीतलहरका कारण विशेषगरी सडकमा बसी माँगी खाने, र अति गरिब व्यक्ति बढी प्रभावित भएका छन्
तर अहिलेसम्म चिसोकै कारण सुनसरीमा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ् ।
यता इनरुवा बजार लगायत लौकही, हरिनगरा, देवानगन्ज बजारमा चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ ।
Discussion about this post