इनरुवा / भारद्वाज भेट्स सप्लायर्स इनरुवाले प्रदेश १ तथा २ का सय जना किसानलाई पशुपालन व्यवसायमा थप प्रेरित गर्न निःशुल्क औषधि तथा पौष्टिक पशु–आहार ‘प्याकेज’ वितरण गरेको छ । सप्लायर्सले कारोबार सञ्चालन ३३ वर्ष प्रवेश गरेको अवसरमा निःशुल्क औषधि तथा पौष्टिक पशु–आहार वितरण गरेको हो ।
आइतबार इनरुवा नगरपालिका परिसरमा आयोजित विशेष समारोहमा प्रदेश १ अन्तर्गत सुनसरीका इनरुवा, धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, गढी, हरिनगर, मोरङका विराटनगर, उर्लाबारी, ग्रामथान र झापाको दमकका किसानले सप्लायर्सका तर्फबाट वितरित ‘प्याकेज’ पाएका थिए । प्रदेश २ अन्तर्गत सप्तरी महुलीका कृषकलाई पनि त्यस्तो विशेष प्याकेज उपलब्ध गराइएको थियो ।
इनरुवा नगरपालिका तथा पशु–औषधि उत्पादक एमडिएस कम्पनीसँगको सहकार्यमा तयार पारिएको सो प्याकेजमा दूध बढाउने, कलेजो दह्रो बनाउने, नाम्ले ठिक पार्ने औषधिसहित क्याल्सियम, भिटामिनजस्ता पौष्टिक–आहार राखिएको थियो । पशु स्याहार गर्ने व्यक्तिका लागि च्यवनप्रास पनि प्याकेजमा समावेश थियो ।
इनरुवा नगरपालिकाको हकमा नगर पशुसेवा शाखाले वडागत रूपमा गरेको सिफारिस तथा बाहिरको हकमा सप्लायर्सको अनुगमन मूल्याङ्कनलाई लाभान्वित हुने किसान छनोटको आधार बनाइएको थियो ।
कार्यक्रममा इनरुवा नगरप्रमुख राजन मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ का निर्देशक लेखराज दाहाल, प्रदेश प्रयोगशाला प्रमुख सञ्जय यादवलगायतले कृषकहरूलाई निशुल्क औषधि तथा पौष्टिक–आहार हस्तान्तरण गरेका थिए ।
सप्लायर्स सञ्चालक विष्णु निरौलाका अनुसार सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत व्यवहारगत उत्कृष्ट तथा पहिचान बनाउन प्रयासरत पशुपक्षी एवम् माछापालक कृषकलाई थप प्रोत्साहित गर्न निःशुल्क औषधि तथा पौष्टिक–आहार वितरण गरिएको हो ।
‘स्वस्थ पशु गोठ–गोठमा १ दही–दूध ओठ–ओठमा १’ नारासहित भारद्वाज भेट्स सप्लायर्सले २०४४ वैशाखदेखि पूर्वाञ्चलस्तरीय कारोबार गर्दै आएको छ ।
Discussion about this post