मुस्ताक आलम / इनरुवा । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले गाउँपालिकामा पशु किसानलाई प्रोत्साहन गर्न र उन्नत जातका दुधालु गाईभैँसी पानलका लागि प्रोत्साहन स्वरुप पशुप्रसुती भत्ता प्रदान गर्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
सोमवार कोशी गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले कृषितर्फ किसानलाई आधुनीकीकरण, ब्यावसायीकरण र बजारीकरणका लागि कार्यक्रमसँगै पशुपालन तर्फ प्रोत्साहन गर्न भैँसी र गाई पालक किसानलाई पशुप्रसुती भत्ता प्रदान गर्ने तयारी गरेको बताएका हुन् । गाउँपालिकाले प्रदान गर्ने पशुप्रसुती भत्ताका लागि कार्यविधी निर्माण गरेर तत्कालै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष अन्सारीले किसानको जिविकोपार्जन पनि हुने र आयआर्जन सहित पालिकालाई खाद्यय र दुध तथा मासुमा आत्मनिर्भरका लागि सहज हुनेगरी पशु बिमा सहित पशु प्रसुति भत्ता कार्यक्रम ल्याउन लागेको बताए ।
उनले कृषिमा अर्गानिक उत्पादन तर्फ ध्यान दिन समेत किसानहरुलाई अपिल गरे । अन्सारीले गाउँपालिकामा अध्यक्ष कृषि आधुनीकीकरण कार्यक्रम अन्र्तगत सात जना किसानलाई ५० प्रतिशत अनुदानमा कागतीको बिरुवा र प्राविधिक सहयोग गरेको बताउदै अन्य कागती खेती गर्ने किसानलाई समेत ५० प्रतिशत अनुदान सहयोग दिने कार्यलाई निरन्तरता दिएको जानकारी दिए ।
सोही कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले गाउँपालिका गाउँ गाउँमा प्रशस्त पूर्वाधार कृषि पर्यटन विकासको आधार मूल नारा नै तय गरेकाले कृषि क्षेत्रलाई उपेक्षा गर्न नसकिने बताए । गिरीले गाउँपालिकाको कृषि सहित समग्रक्षेत्रको विकासको लागि आवधिक योजना निर्माणमा लागेको बताए । उनले गाउँपालिकाको कामकर्वाही व्यवस्थित गर्न आर्थिक शाखा, सामाजिक शाखा, प्रशासन शाखा, कृषि शाखा, पशु शाखा सहित बिषयगत शाखाहरु सञ्चालनमा रहेको बताउदै सबै शाखाको समन्वयमा गाउँपालिकाले पाँचवर्षे आवधिक योजना निर्माणको लागि कार्यको थालनी गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा पशु विकास शाखाका गोसाई यादवले आफू आफनो श्रोत साधनले भ्याएसम्म जनताको सेवामा लागि परेको बताउँदै किसानका लागि कृषि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने , दुध उत्पादन बढाउन किसानलाई घाँस खेतीतर्फ प्रोत्साहन गर्नुपर्ने, पशु स्वास्थ्य शिविरहरु सञ्चालन गर्नुपर्ने, पशु विमा गर्नुपर्ने बताए । गाउँपालिकामा आफूहरुले उन्नत जातको पशुपालनका लागि प्रजनन तथा नश्ल सुधार कार्यक्रम गर्दै आएको बताए । यस कार्यक्रमलाई थप व्यवस्थि तगर्न सरकारले बजेट बिनियोजन गर्नुपर्ने बताए । त्यसैगरी पशुशाखा लौकहीका प्रमुख मोहन कुमार सिंहले किसानलाई पशुमा दुध उत्पादन बढाउन घाँसको बिउ वितरण गर्नुपर्ने, दुधका लागि चिसियान केन्द्र स्थापना गर्नुपर्ने र गाउँवडामा किसान सचेतना सम्वन्धीको कार्यक्रम गर्नुपर्ने बताए । गाउँपालिकामा एउटै पशुशाखा रहेकोमा सेवा बिस्तारका लागि हरिपुरमा समेत पशु सेवा केन्द्र स्थापना भएको र किसानहरुलाई कृषक समुह तथा फर्मका लागि गाउँपालिकाले निःशुल्क सहजीकरण गरिरहेको अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वासले बताए । कार्यक्रममा कोशी गाउँपालिकाका १ नम्बर वडाध्यक्ष राजकुमार साहले देश कृषिप्रधान भएकाले कृषका लागि थप कार्यक्रम ल्याउन आफू प्रयासरत रहेको बताए ।
Discussion about this post