इनरुवा । कोरोना भाइरस (कोभिड १९) विरुद्धको पहिलो खोप इनरुवाका एम्बुलेन्स चालक नारायण मण्डलले लगाएको छ ।
बुधबार इनरुवा अस्पतालमा स्थापना गरिएको खोप केन्द्रमा पुगेर ४७ वर्षिय मण्डलले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको अस्पताल प्रशासन प्रमुख रामकुमार मेहताले बताए ।
प्रशासन प्रमुख मेहताका अनुसार सरकारी मापदण्ड अनुरुप अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई खोप लगाउने क्रममा एम्बुलेन्स चालकलाई पहिलो डोज लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप अभियानको औपचारिक सुरुवात भएको बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, स्वास्थ्य प्रमुख सागर प्रसाई सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा इनरुवा अस्पतालबाट खोप अभियानको औपचारिक सुरुवात गरिएको हो ।
सो क्रममा इनरुवा अस्पतालका मेडिकल सुपरिटेण्ड डा.सन्तोष राई, डा. रिचा भट्टाराई, डा.रीया भट्टाई, डा.ज्योत्तसाना पराजुली, इन्डोर इन्चार्ज रोनी ठाकुर, रेडियोग्राफर विजय मेहता, ल्याव इन्चार्ज रञ्जन कुमार मेहता लगायतका १४ जनाले कोरोना विरुद्धको खोप लगाएको बताएको छ ।
यता जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लाका ४ स्थानमा खोप लगाइने कार्य सुरु गरिएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिजयपुर अस्पताल, इटहरी अस्पताल र इनरुवा अस्पतालमा पहिलो चरण अन्र्तगत प्राथमिकतामा परेका व्यक्तिहरुको हकमा तीन दिन खोप कार्यक्रम संचालन हुनेछ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा कुल १२ हजार डोज खोप प्राप्त भएको छ । पहिलो डोज लगाएका व्यक्तिलाई पूनः २८ दिन पछि दोस्रो डोज दिइने छ । कार्यालयले पहिलो चरण अन्र्तगत जिल्लामा पाँच हजार पाँच सय जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
Discussion about this post