इनरुवा । भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र भित्र रहेका सार्वजनिक तथा एैलानी जमिनको खोजी गरी संरक्षण गरिने भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिका क्षेत्र भित्र विभिन्न स्थानमा रहेको अतिक्रमित ऐलानी जग्गाको पहिचान गर्ने, खाली गर्ने र तारवारसहित संरक्षण गर्ने लगायतका महत्वपूर्ण कार्य गर्न लागेको बताएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिका भित्र रहेको ऐलानी जग्गा अतिक्रमण गरेर बसेकालाई हटाइ जग्गा खाली गराउने, घर नभएका एैलानी जग्गालाई तारवारले सुरक्षित राख्ने लगायतका कार्य गर्न लागेको बताएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका वडा न. ६ र ७ स्थित जनता माध्यमिक विद्यालयको जग्गामा बस्दै आएकाहरुको तथ्यसहितको वास्तविकता पत्ता लगाउने तयारी गरिएको उनले जानकारी दिए । साविकको नक्साअनुसार कति जमीन थियो ? हाल सो नक्सामा कति जग्गा रहेको छ ? सो को एकिन गरि जग्गामा बसेका व्यक्तिको संख्या के कती हो ? एकिन गरी संरक्षण गर्ने कार्यमा लागेको उनले जानकारी दिए । जनता माध्यमिक विद्यालयको ४१ विघा जग्गा मध्ये १८ विघा जग्गा आफूले खोज तलास गरी विद्यालयको मातहतमा लाएको र बाँकी अरु जग्गा खोज्न लागेको समेत बताए ।
यस्तै गाउँपालिका भित्र रहेका ऐलानी, प्रति सरकारी जग्गामा अतिक्रमण गरि भोगचलन गर्दै आएका जग्गाहरुको खोजी गरी संरक्षण गर्ने उनले बताए । गाउँपालिकाका अन्य क्षेत्रमा रहेका घर नभएका ऐलानी जग्गालाई भोक्राहा नरसिंह गाउँपालिकाले तारवार गरि सुरक्षित राख्ने तयारी गरी रहेको छ ।
ऐलानी जग्गाको संरक्षण, व्यवस्थापन र सडक निर्माणमा गरिएका महत्वपूर्ण निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्न सवै पक्षको सहयोग आवश्यक रहेको अध्यक्ष यादवले बताए ।
Discussion about this post