इनरुवा / मोरङको विराटनगरमा नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ । विराटनगर महानगरपालिका वार्ड नं. ५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरिएको हो ।
मोरङ प्रहरीले राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र निजको भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा निजहरुको कोठाबाट एमिडोन इन्जेक्सन ६५ थान, पारासिटामोल इन्जेक्सन २४ थान, डेस्रिम इन्जेक्सन नौ थान, पाजोकेम इन्जेक्सन १४ थान र इनहेम इन्जेक्सन १४ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनको कोठामा खानतलासी गर्ने क्रममा प्रहरीले १० लाख तीन हजार एक सय ८० रुपैयाँबराबरको प्रतिबन्धित औषधि बरामद भएको जनाइएको छ ।
प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने एचपी कम्पनीको कलर प्रिन्टर समेत फेला पारी वरामद गरेको छ भने कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post