दाङ / दाङको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीलाई कम्प्युटर प्रदान गरिएको छ। रोटरी क्लब दाङको समन्वयमा विभिन्न संस्थाहरूले कारागारका कैदीबन्दीलाई कम्प्युटर प्रदान गरेका हुन्।
विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूलाई कम्प्युटर उपलब्ध गराइएको हो। कम्प्युटर पाएपछि कैदीबन्दीहरू खुशी भएका छन्।
तुलसीपुर कारागारमा रहेका कैदीबन्दी बुद्धि रोकाले कारागारभित्रै कम्प्युटर सिक्न पाउने भएपछि धेरै खुशी लागेको बताए। उनले भने,‘ मैले बाहिर हुँदा सिकेका कुराहरू यहाँ आइसकेपछि सबै बिर्सेको थिएँ, दिमाग शिथिल भइसकेका कैदीबन्दीलाई प्राविधितर्फ उन्मुख गराउँदा निकै खुशी लागेको छ।’ उनले कारागारमा रहँदा प्रविधि प्रयोग गरी खाली समयको सदुपयोग गर्न सकिने समेत बताए।
घोराही कारागारमा रहेका प्रशिक्षक कैदीबन्दी विक्रम थापाले धेरै खुशीको अनुभूति भएको बताए। उनले विगतमा भुलेका कुराहरू सिक्न अवसर मिलेको समेत बताए। कारागारभित्र यस्तो सेवा पाउँदा कैदीबन्दीमा पनि उत्साह जागेको र भोलिका दिनहरूमा उनीहरू यहाँबाट गएपछि सही मार्गतिर लाग्न मद्दत पुग्ने उनको भनाइ छ।
२ वर्षदेखि घोराही कारागारमा रहेका अर्का समीर वलीले पनि कम्प्युटर सिक्न पाउँदा धेरै खुशी लागेको बताए। ‘बाहिर हुँदा कम्प्युटरमा भिडियो हेर्ने मात्र जानेको थिए,’ उनले थपे, ‘ कम्प्युटर कोर्षहरू पढेको थिइनँ। कारागारजस्तो ठाउँमा कम्प्युटर सिक्न पाउँदा धेरै खुशी लागेको छ।’
गत वर्षदेखि दाङको घोराहीमा रहेको कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरूलाई शिक्षा दिन ज्ञान ज्योति विद्यालय नामाकरण गरी विद्यालय स्थापना गरेर शिक्षा दिन शुरू गरिएको थियो। कारागारभित्र टिनले बारेको सानो कोठाको भित्तामा नेपाली वर्णमाला टाँगेर कैदीहरूलाई शिक्षा दिन कक्षाकोठा बनाइएको हो।
Discussion about this post