इनरुवा । सुनसरी सदरमुकाम इनरुवाको जिल्ला अस्पतालमा देखिएको बेथिति अन्त्यको माग गर्दै इनरुवा नगर सुशासन अभियान अन्र्तगत इनरुवा अस्पताल सुधार संघर्ष समितिले धर्ना दिने भएको छ । माघ २९ गते इनरुवामा वृहत प्रदर्शन गर्दै धर्ना सहितको कार्यक्रम गर्ने तयारी गरेको समितिका संयोजक दिलिप साहुले जानकारी दिए । समितिको बैठकले इनरुवा अस्पतालमा देखिएको समस्या र बेथिति अन्त्य गर्न केही महिनादेखी गरेको संघर्ष कार्यक्रमबाट सुनुवाई नभएकोले वृहत प्रदर्शन गर्दै धर्ना सहितको कार्यक्रम गर्ने तयारी गरेको समितिका संयोजक साहुले बताए ।
इनरुवा अस्पताल ५० सैयाको भएपनि सुविधा ५ बेडको जस्तो समेत नभएको भन्दै समिति आन्दोलनमा उत्रेको साहको भनाई छ । स्वास्थ्य सेवा प्रति सेवाग्राहीको विश्वास गुम्दो अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै संघर्ष समितिले अस्पताल समस्या समाधान गर्न अस्पताल प्रशासनलाई दबाव दिदै आन्दोलनमा उत्रेको हो ।
अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन अल्टिमेटम सहितको ज्ञापन पत्र अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारी , प्रदेश मूख्य मन्त्री र मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउदाँ समेत सुनुवाई नभएकाले धर्ना दिन लागेको समितिका सेमन्त बरालले बताए । समितिले २५ बुदे माग राख्दै पहिलो चरणको ४ वटा कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणको कार्यक्रम सुरु गरेको हो । समितिले आन्दोलनलाई सार्थक पार्न इनरुवाको १० वटै वटामा संघर्ष समिति गठन गरेको छ । हजार बढीको सहभागितामा वृहत प्रदर्शन गर्दै धर्ना सहितको कार्यक्रम तय गरेको संयोजक साहुले जानकारी दिए ।
साहले अस्पतालमा मौलाएको बेतिथि प्रति ध्यानाकर्षण भएको भन्दै अस्पतालमा कर्मचारीको मनोमानीसँगै अस्पतालको ड्युटी समयमा डाक्टर नभेटिने, सेवाग्राहीले भरपर्दो सेवा पाउन नसक्नुका साथै औषधी उपलब्ध नहुने र बिमा कार्यक्रम निस्प्रभावी भएको आरोप लगाएको छ ।
व्यक्तिगत स्वार्थमा लिप्त कर्मचारीलाई कार्वाहीको दायरमा ल्याउने ठोस योजना सहितको दीर्घकालिन समाधान निकाल्न समेत अस्पताल प्रशासनलाई सुझाएका छन् । समितिले विषेशज्ञ सेवा सहितको सुविधा दिनुपर्ने, अस्पतालको सबै खर्च र आम्दानी सहितको विवरण सार्वजनिक गर्नुपर्ने, ल्याब २४ घण्टे सञ्चान गर्नुपर्ने, ब्लडबैक सुरुवात गर्नुपर्ने, अल्ट्रासाउण्ड नियमित हुनुपर्ने सहितका २५ बुदे माग राखेको छ । अस्पतालमा देखिएको समस्या र खिचातानी सहित सुधार र आवश्यक सहयोग माग राखेको समितिका गुवाल शर्माले बताए । अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारीले अस्पताल सुधारको सवालमा आफु लागिपरेको बताउदैआएको छ । उनले सबैको साथ र सहयोग नपाएकाले समस्या समाधान गर्न भने केही ढिलो भएको बताए ।
Discussion about this post