भक्तपुर – भक्तपुर प्रहरीले चार वटा चोरीको मोटरसाइकलसहित चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा ओखलढुंगा लिखु गाउँपालिका–९ का २२ वर्षीय कुल बहादुर तामाङ, र २४ वर्षीय गोविन्द गौतम, ओखलढुंगा खिजी देम्बा गाउँपालिका–२ बस्ने २८ वर्षीय पञ्चमान तामाङ छन् ।
त्यस्तै दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर धोबिघाट बस्ने २७ वर्षीय अभिषेक योञ्जन, दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने १९ वर्षीय सुमन नेपाली, शैलुङ गाउँपालिका–२ घर भई सूर्यविनायक बस्ने २३ वर्षीय फुर्वा तामाङ र २१ वर्षीय राजु तामाङ छन् ।
प्रहरीका अनुसार कुलबहादुर, गोविन्द र पञ्चमानको समूहले गत पुस ६ गते राति सूर्यविनायक–८ सिपाडोलका किसन थापाको प्रदेश नं ३–०२–०१० प ७१४१ नम्बर को पल्सर मोटरसाइकल र गत माघ ११ गते भक्तपुर बाराहीस्थान डेरा गरी बस्ने पेम्बा तामाङको प्रदेश २–०२० प ८८२७ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेका थिए।
त्यसैगरी अभिषेक र सुमनलाई हरी गोविन्द शिल्पकारको नाममा रहेको बा ९८ प ८९६४ नम्बरको मोटरसाइकल चोरी गरी लाँदैंगरेको अवस्थामा मंगलवार राति भक्तपुर नगरपालिका–७ आदर्शचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यस्तै मध्यपुरठिमी–५ स्थित अरनिको राजमार्गबाट कुमार श्रेष्ठको नाममा रहेको प्रदेश ३–०२–०१७ प। ७०४८ नम्बरको मोटरसाइकल चोरी गरी लाँदैगरेको अवस्थामा मंगलवार साँझ फुर्वा र राजुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
पक्राउ परेका सातै जनालाई कानुन बमोजिम कारबाही भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।
Discussion about this post