विराटनगर । औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका अधिकृतलाई अख्तियारको टोलीले घुससहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले घुसबापत लिएको दुई लाख रुपैयाँसहित फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको हो ।
बिहीबार दिउँसो विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडि रहेको भट्टराई होटलबाट सुवेदीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।सुवेदीले तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मा रहेको एउटा फार्मेसीको कारबाही फुकुवा गर्ने भन्दै दुई लाख रुपैयाँ घुस मागेका थिए । मेन्छेयाममा रहेको एउटा फार्मेसीमा उपचार गराएका एक व्यक्तिको गत वैशाख ५ गते मृत्यु भएको थियो । सो घटनापछि सञ्चालक विरुद्ध मुद्दा दायर भएको थियो । धरौटीमा छुटेका सञ्चालक विरुद्धको मुद्दा विचाराधीन अवस्थामा छ ।
मुद्दाका विषयमा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमले औषधि व्यवस्था विभागसँग राय मागेपछि विभागका कर्मचारी फार्मेसी सञ्चालकसँग घुस माग्न पुगेका थिए ।
बिरामीको मृत्यु भएपछि औषधि व्यवस्था विभागको निर्देशनमा गत भदौ ५ गते औषधि पसल पनि सिल गरिएको थियो । औषधि पसल सञ्चालकसँग जेल नपर्ने र पसलको कारबाही फुकुवा गर्ने गरी कागज बनाइदिने भन्दै सुवेदीले घुस मागेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
Discussion about this post