विराटनगर / मोरङको केराबारी गाउँपालिका–७ नर्कटेस्थित एउटा बिहे घरमा शनिबार बिहान साङ्घातिक हमला भएको छ।
मादक पदार्थ सेवन गरेर आएको समूहको आक्रमणबाट चार जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ। आक्रमणकारीले बिहे घरबाट पैसा र सुनचाँदीका गरगहना लुटेर फरार बनेको प्रहरीले जनाएको छ। स्थानीय भगीमान लिम्बूको घरमा आक्रमण भएको मोरङ प्रहरीले जनाएको छ । भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईबीच बिहेको कार्यक्रम समापन भइसकेपछि घटना भएको हो ।
आक्रमणमा परेर बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू , कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका छन् ।
सबै घाइतेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । खुकरी प्रहार गरिएका भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ। दायाँतर्फको करङबाट भालाले रोपिएका भगतको फोक्सोमा पनि चोट लागेको प्रहरीको भनाइ छ।
आक्रमणकारीले बिहेमा बेहुलीको नाममा जम्मा भएको दुई लाख ३५ हजार नगद र बेहुलीले लगाएका सुनचाँदीका गरगहना लुटपाट गरेर त्यो समूह भागेको प्रहरीले जनाएको छ।
आक्रमणमा केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको संलग्नता रहेको जानकारी प्रहरीले दिएको छ। मुस्कान र निशान एउटै परिवारका दाजु–भाइ हुन्।
मदिरा सेवन गरेर आक्रमणमा उत्रिएको समूहले लागुऔषध पनि सेवन गरेको हुनसक्ने प्रहरीको आशंका छ। आक्रमणकारी गाउँघरमा दादागिरी र गुण्डागर्दीमार्फत सर्वसाधारणमा आतंक खडा गर्ने समूह रहेको पाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post