इनरुवा – इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले १ सय ३० परिवारको स्वास्थ्य बिमा गरेका छन् ।
मेहताले इनरुवा २ मगर टोलका विपन्न तथा गरिब परिवारको स्वास्थ्य बिमा गरेका हुन् । मेहताले आफ्नो मासिक तलब र सेवा सुविधाबाट प्राप्त हुने रकमले ति परिवारको स्वास्थ्य बिमा गरि दिएको बताए ।
स्वास्थ्य बिमा कार्यक्रममा सबैको पहुँच स्थापित गराउन आफुले सहयोग गरेको मेहताले जानकारी दिए । रकम अभावमा सरकारी सेवाबाट वञ्चित हुन नपरोस भनेर आफुले सहयोग गरेको मेहताले बताए । औपचारिक कार्यक्रमका बिच लक्षित परिवारलाई बिमा कार्यक्रममा समेटिएको थियो । प्रदेश एकका प्रमुखप्रतिपक्षी दलका नेता राजिब कोइरालाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कोइरालाले नगर प्रमुखले चालेको कदम सराहनीय र प्रशंसा योग्य रहेको बताए । उनले यस्ता कार्यक्रमले जनता र जनप्रतिनिधि बिच भावनात्मक सम्वन्धको बिकास गराउने बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख मेहताले सरकारका राम्रा काम र नीतिको सबैले अवलम्बन गर्नु पर्ने धारणा राखेका थिए । मेहताले स्वास्थ्य बिमा कार्यक्रमले स्वास्थ्योपचारमा सबैको सहज र सरल पहुँच स्थापित गराउने बताए ।
मेहताले नगर भित्रका अन्य वडामा बसोबास गर्ने विपन्न र गरिव परिवारलाई समेत क्रमशः निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने बताए ।
मेयरले थालेको निःशुल्क स्वास्थ्य बिमा अभियानमा १ सय ३० परिवारका लगभग ६ सय ५० जना समेटिने छन् । जस वापत ४ लाख ५५ हजार रुपैया मेहताले स्वास्थ्य बिमा बोर्ड सुनसरीलाई बुझाउने बताए ।
Discussion about this post