विराटनगर / ट्याङ्करमा इन्धन लोड गरेर विराटनगरबाट भारत तर्फ तस्करी हुने गरेको पाइए पछि ट्याङकर सहित मोरङ प्रहरीले भारतीय दुई नागरिकलाई नियन्त्रणमा लिएको छ ।
डिजेल लोड गरेर भारत तर्फ लैजाने तयारीमा रहेको को १ ख ५९९२ नम्बरको ट्याङकरमा २ हजार ६ सय ६० लिटर डिजल बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।
इन्धन तस्करीको आरोपमा भारत अररिया जिल्ला मिरगञ्जका मोहमद सजाद र इमरोज आलमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएपछि भारतबाट आयात गरिएको इन्धन भारत नै तस्करी हुने खुलेको छ ।
ट्याङकरको दुई नम्बर च्याम्बरमा आधा लोड गरिएको डिजल फेला परेपछि आयल निगम विराटनगरले प्रहरीलाई खबर गरेको थियो । बरौनीबाट शुक्रबार पेट्रोल लिएर आएको ट्याङकरले डिलरहरुमा पेट्रोल अनलोड गरेर पुनः इन्धन लिनका लागि भारत जाने तयारीमा लाइनमा रहेको थियो ।
नियन्त्रणमा लिइएको दुइजनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाउने तयारी गरिएको मोरङ प्रहरीले जनाएको छ ।
Discussion about this post