पारशमणी यादव – इनरुवा ।
जिल्ला प्रशासन कार्यालय सुनसरी इनरुवाले कोरोनाको जोखिम कायमै रहेकाले सबैलाई सरकारले जारी गरेको मापदण्ड अनुसार गर्न गराउन आग्रह सहित अपिल गरेको छ ।
प्रशासन कार्यालयले जारी गरेको सूचनामा छिमेकि मुलुक भारतमा कोभिड–१९ को प्रकोप थप सक्रिय भई संक्रमणको दर बढ्न गएको तथा उक्त महामारीका कारण मृत्युदरमा समेत बृद्धि भएकोले खुला सीमा नाकाहरुवाट जनमानसको आवतजावत बढ्न गएको सन्दर्भमा गृह मन्त्रालयवाट कोभिड–१९ को संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयवाट प्रेस बिज्ञप्ति मार्फत सबै नागरिकहरुलाई सजग र सतर्क रही स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने तथा थप सावधानी अपनाउन आग्रह गरिएको छ ।
त्यसैगरी प्रशासनले आफ्नो सूचनामा निकट रहेको फागु पूर्णिमा (होली) को अवसरमा भिडभाड तथा जमघट नगर्ने÷नगराउने समेत आग्रह गरेको छ ।
सूचनामा कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिलो सञ्चालनमा आएका क्वारेन्टिन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरुवाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय तथा सबै स्थानीय तहहरुले आवश्यक तयारी गर्ने÷गराउने अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले कोभिड–१९ संक्रमण थप फैलन नदिन बिद्युतीय माध्यमवाट चेतनामूलक सन्देश प्रशारण गर्ने तथा स्वास्थ्य परीक्षण गराई संक्रमणको अवस्था पहिचान स्वास्थ्य कार्यालय तथा सबै स्थानीय तहहरुले गर्ने÷गराउने निर्देशन सहितको सूचना जारी गरेको बताए ।
प्रजिअ ढकालका अनुसार सूचनामा सामाजिक दुरी, माक्स, स्निटाइजर सहितको मापदण्डको पूर्ण पालना स्वास्थ्य कार्यालय, स्थानीय तह र सुरक्षा निकायहरुले कडाईका साथ गर्ने÷गराउने र रात्रीकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा जिल्लाको कोभिड –१९ संक्रमणको अवस्था समेत विचार गरी भिडभाड नगर्ने र अबेरसम्म व्यवसाय सञ्चालन नगर्ने÷नगराउने भनिएको छ ।
Discussion about this post