निश्चल शर्मा – इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा दोस्रो बर्जु महोत्सव आज देखी सुरु भएको छ । जिल्ला दक्षिणवर्ती क्षेत्रमा पर्ने बर्जु गाउँपालिका वडा नं. ६ चिमडीमा रहेको चिमडी दह अर्थात बर्जु तालमा आज शुक्रवार देखि ११ दिने बर्जु महोत्सव आज देखी सुरु भएको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार बर्जुको एतिहासिक बर्जु ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागी यस क्षेत्रका जुझारु यूवाहरुले नयाँ वर्षलाई लक्षित गर्दै दोस्रो बर्जु महोत्सवको आयोजना गरेको बताए ।
उनले भने आन्तरिक पर्यटक भित्राउने उदेश्यले चैत्र २० गते देखि २०७८ बैशाख १ गते सम्म संचालन हुने गरि ११ दिने बर्जु महोत्सव गर्न लागिएको हो । यता सुनसरी सदरमुकाम इनरुवादेखी १८ किलोमिटर दक्षिण पूर्व र मोरगंको बिराटनगर बरगाछीचौक देखि करिब ९ कि.मि. पश्चिममा पर्ने बर्जु ताललाई आन्तरीक तथा बाह्य पर्यटकहरू माझ चिनाउनका लागि बर्जु महोत्सव आयोजना गरिएको वर्जु महोत्सव आयोजक कमिटिका अध्यक्ष श्रवण कुमार चौधरीले जानकारी दिए ।
सविकको चिमडी गाउँ विकासमा रहेको १ सय ५२ बिघामा फैलिएको यो ताल क्षेत्र हालको वर्जु गाउँपालिका ६ मा पर्छ । यहाँ सयौ प्रजातिका पंक्षी तथा जलपक्षी, आकर्षक ताल, ढुङगा सयर, विश्राम स्थल, पलाउदै गरेको हरियो वन सहित मनोरम दृश्य, विभिन्न कलाकारको प्रस्तुती सहितको मनोरञ्जानत्मक कार्यक्रम र कुस्ती सम्मको अवलोकन गर्न पाउने छ । पर्यटकीय सम्भावनाले भरिपुर्ण भएपनि प्रचार– प्रसारको अभावले ओझेलमा परेकाले यस क्षेत्रलाई चिनाउनका लागि पनि बर्जु तालमा महोत्सवको आयोजना गरिएको जनाएको छ । तालमा हुने महोत्सवमा विभिन्न स्टल र रमाइलो मेलासँगै कुस्ती प्रतियोगिता पनि सञ्चालन हुने जानकारी दिएको छ ।
वर्जु महोत्सव आयोजक कमिटिका अध्यक्ष चौधरीका अनुसार महोत्सवको आकर्षणका लागि कुस्ती खेल र त्यसमा नेपाली र भारतका पहलवानहरूको प्रतिस्पर्धा गराउनेछ । महोत्सवमा राष्ट्रिय कलाकार श्री कृष्ण लुइँटेल ( बोके दारी), गायिका ज्योती मगर, राजिन्द्र चौधरी , प्रेम गन्गाई , निकिता मण्डल ( थारू ), मेनुका माझी, पिंकी राजवंशी, उषा बि।सी,आशा बि.सी., ममता चौधरी लगायतको प्रस्तुती रहने छ ।
कोरोना महामारीको बढ्दो संकर्मण र जोखिमलाई मध्यनजर गर्दै प्रत्येक दिन महोत्सवमा आउने दर्शकलाई निःशुल्क मास्क वितरण गर्ने, सेनिटाईजेसन गर्ने र हेल्पडेक्स राखेर चेकजाँच गर्ने बर्जु महोत्सव कमिटिका अध्यक्ष श्रवणले जानकारी दिए ।
बर्जु महोत्सवमा सचिव सरोज चौधरीले कुस्तीले दर्शकको उपस्थिति विगतको तुलनामा बढ्ने बताए । महोत्सव आयोजक संस्था बर्जु सामुदायिक बिकास केन्द्रका उपाध्यक्षसमेत रहेका चौधरीका अनुसार अघिल्लो वर्षको महोत्सवमा पनि कुस्ती आयोजना गरिएको र १५ लाख रुपियाँ आम्दानी भएको थियो ।
यता गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले महोत्सव पूर्ण प्रचारप्रसारलाई लक्षित गरि आयोजना हुने भएको र यसले बर्जुलाई चिनाउने बताए । तालमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको अबलोकनका साथै वनभोज खाने र रमाइलोका लागि बोटिङ्ग र बालबालिकाका लागि फनपार्क समेतको व्यवस्था रहेकाले यसको प्रचारप्रसार आवश्यक रहेको चौधरीले बताए ।
Discussion about this post