मोहन ढकाल
विराटनगर / विराटनगरको मुख्या नाका जोगमनी बन्द छ । कोरोना सङ्क्रमण जोखिमका बीच गत वर्षदेखि बन्द नाका सञ्चालनमा आएको छैन ।
केही समयपहिला नाका सञ्चालन गर्न स्थानीयले आवाजसमेत उठाएका थिए । उनीहरूले खुला नाकाबाट हुने आवत–जावत रोकेर मुख्य नाका सञ्चालन गर्न दबाब दिएका थिए । तर चोरबाटोबाट हुने आवत–जावत पनि रोकिएन मुख्य नाका पनि सञ्चालन भएन ।
पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणको दर दैनिक बढिरहेको छ । सरकारले सीमा नाकामा कडाइ गर्न निर्देशनसमेत दिएको छ । प्रशासनले कडाइ गरिरहेको बताउँदै पनि आएको छ । तर चोरबाटोको प्रयोग गरेर नेपाल–भारत आवत–जावत गर्नेको लर्को भने रोकिन सकेको छैन ।
लकडाउनको समयमा पनि प्रहरीको मिलेमतोमा खुला नाकाबाट मानिसहरू आवत–जावत नरोकिएको भन्ने समाचारहरू बाहिरिरहेका थिए । अहिले पनि प्रहरीकै मिलेमतोमा मानिसहरु चोरबाटोको प्रयोग गर्दै आवत–जावत गरिरहेको सीमा नाकाका स्थानीयले बताए ।
विराटनगर दरैयाका एक जना स्थानीयले नाम नखुलाउने सर्तमा भने, ‘प्रहरीकै मिलेमतोमा आवत–जावत भइरहेको छ, यहाँ फोटो खिच्नसमेत दिँदैन प्रहरीले, कसैले खिचेको थाहा पाए डिलिट गरिदिन्छन्, प्रहरीसँगै अन्य व्यक्तिहरूले पनि सघाइरहेका छन् ।’
विराटनगरको मटिहर्वा, दरैयालगायतका खुला नाकामा दैनिक हजारौँ मानिस आवत–जावत गरिरहेका हुन्छन् । मुख्य नाकामा हेल्प डेक्सको स्थापना गरिएको छ । तर त्यहाँबाट १० जना पनि मानिस आउँदैनन् । खुला नाकामा भइरहेको असुरक्षित आवत–जावतलाई नियन्त्रण गर्न बसेको प्रहरी प्रशासन नै मूकदर्शक भएको देखिन्छ ।
कोसी अनलाइनकर्मी समाचार सङ्कलनको क्रममा मटिहर्वा र दरैयासम्म पुग्दा खुला सीमाबाट हुने असुरक्षित आवत–जावतलाई नियन्त्रण गर्न बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले ‘कसलाई सोधेर फोटो खिचेको रु हामीलाई माथिबाट जानकारी नदिई फोटो खिच्न नदिनु भनेको छ’ भन्दै बारम्बार फोटो हटाउन आग्रह गरेका थिए । उनीहरूले आफू भएको फोटो नराखिदिन र राखेको अवस्थामा आफूहरूलाई समस्या पर्ने बताएका थिए ।
खुला सीमानजिकका घरका पर्खाल भत्काएर वारिपारि आवत–जावत गर्ने बाटो बनाइएको छ । उक्त बाटोबाट आवत–जावत गर्नेको लस्कर अत्यधिक छ । त्यहाँ कुनै स्वास्थ्य सावधानी अपनाएको पनि पाइँदैन ।
कोरोना सङ्क्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाकाबाट हुने असुरक्षित आवत–जावतमा कडाइ गरिएको मोरङ प्रहरीले बताउँदै आएको छ । तर थप भिडभाड बढेको अवस्था छ ।
मोरङ प्रहरीका एसपी सन्तोष खड्काले सीमा क्षेत्रमा कडाइ गरिएको बताए । अलि–अलि भएको आवत–जावत पनि पारिका मान्छे नभएर नेपालबाटै किनमेल गर्न गएका मान्छे भएको उनले बताए । कोरोनाको दोस्रो लहर फैलन नदिन सीमा नाकामा थप कडाइ गरिने उनले बताए ।
Discussion about this post