काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बताइएको छ ।
यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघि देखि सूर्यास्त नभएसम्म पानीसमेत पिउन नहुने विश्वास गरिन्छ । उर्दू क्यालेन्डरअनुसार बुधबार बिहान ४ः१५ बजेबाट बेलुका ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्योदय र अस्तको समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गरिन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिँदै आएको छ ।
दान दिनु‚ गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानको अवसरमा व्रत बस्नेहरूले आज साँझ चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ । सुनसरी चाँदबेलाका मोहम्मद इनुसले रमजान महिना आफूहरूका लागि निकै महत्वपूर्ण एवं पवित्र रहेको र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने बताए ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिनासम्म इमान्दारीपूर्वक रोजा बस्न सकेमा भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउने सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलको भनाइ छ ।
व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गर्छन् । एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको बताइएको छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।
देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।
Discussion about this post