काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहाना बनाई काममा हुने ढिला सुस्ती स्वीकार्य नहुने बताएको छ । नापी कार्यालयहरूबाट नाप नक्सा लगायतका सेवा प्रवाहको कार्यलाई प्रविधिमैत्री बनाउन नापी विभागद्वारा निमार्ण गरिएको नेलिस र मेरो कित्ता नामक अनलाइन ‘एप’ को आज उद्घाटन गर्नुहुँदै ओलीले सरकार नयाँ काम गरी प्रत्येक दिन एक पाइला अघि बढिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनावश्यक ढिलासुस्ती भइरहेको भन्नुहुँदै यो वा त्यो बहानामा हुने कुनै पनि प्रकारका ढिलासुस्ती स्वीकार्य नहुने उनले बताए । नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै मुलुकलाई आत्मनिर्भर बनाउन लगानी भित्र्याउने र टेक्नोलोजीको समेत विकास गरिने ओलीले बताए ।
डिजिटल नेपाल अभियान अन्तर्गत सरकारले पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति हासिल गरेको बताए । उनले भूमि सम्बन्धी समस्या समाधान गर्न विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए । प्रधानमन्त्री ओलीले नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर भएको उल्लेख गर्नुहुँदै हाम्रा आनीबानीमा सुधार ल्याउन आवश्यक रहेको बताए । फेरी कोभिडको सङ्क्रमण बढ्न थालेकाले स्वास्थ्य मापदण्डको पालना गर्दै सतर्क र सचेत रहन सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले नेलिस र मेरो कित्ता एपको सञ्चालनले मालपोत कार्यालय र नापी कार्यालयहरूमा हुने गरेको ढिलासुस्ती र व्यथिति अन्त्य हुने विश्वास व्यक्त गरे । प्राविधिक कमजोरी देखाउँदै सेवा प्रवाह रोक्ने प्रवृत्तिको अन्त्य गरी प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीहरूलाई तुम्बाहाम्फेले निर्देशन समेत दिए ।
कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले जग्गाको कामलाई सरल बनाउन एपको विकास गरिएको भन्नुहुँदै यसबाट सेवा प्रवाहमा हुने गरेको जटिलता र दोहोरोपनाको अन्त्य हुने बताए । जोशीले नेलिस एप प्रणालीमार्फत जग्गा दर्ता र नक्सा अद्यावधिक गर्नुका साथै मेरो कित्ता प्रणालीमार्फत नक्सा, फल्डबुक र प्लट रजिष्टर प्रिन्ट सम्बन्धी सेवा घरबाटै लिन सकिने जानकारी दिए ।
नेलिस र मेरो कित्ता प्रणाली पहिलो चरणमा नापी कार्यालयहरू कलङ्की, डिल्ली बजार र भक्तपुरबाट सुरु गरी बिस्तारै सबै कार्यलयहरुमा लागु गरिने छ ।
Discussion about this post