काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी अघि बढाउन नदिएको आरोप लगाएका छन् । शनिवार बालुवाटारमा आह्वान गरिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई यस्तो आरोप लगाएका हुन् । ‘मैले एमसीसी पेश गर्न खोज्दा उहाँ सभामुखले दिनुभएन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले भने, ‘सभामुखले अराजक राजनीति गरिरहनुभएको छ ।’
अध्यक्ष लोहनीकाअनुसार बैठकमा प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न सबै दलका नेताहरुलाई आग्रह गरेका थिए । ‘हामी कोरोना नियन्त्रणको लागि सधैं प्रयासरत छौँ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘तपाईँहरुको सहयोग पनि यसमा आवश्यक पर्छ ।’
प्रधानमन्त्री ओलीले आह्वान गरेको बैठकलाई माओवादी केन्द्र र विपक्षी एमालेले भने बहिस्कार गरेको थियो । आफूहरुलाई आधिकारिक सूचना प्राप्त नभएको भन्दै नेताहरुले बैठकमा नजाने निर्णय गरेको माओवादी नेता लीलामणि पोखरेलले जानकारी दिए । ‘हामीलाई आधिकारिक सूचना आएन,’ नेता पोखरेलले भने, ‘सञ्चारमाध्यमले समाचार छापेको आधारमा गइन्न ।’
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका नेताहरु लक्ष्मणलाल कर्ण, महन्थ ठाकुरलगायत, नेपाल मजदूर किसान पार्टी र राप्रपादलका नेताहरुको सहभागिता रहेको थियो ।
Discussion about this post