सुरेन्द्र मेहता – इनरुवा ।
सुनसरीको आधा दर्जन पालिकाहरु दमकल विहिन बनेको छ । स्थानीय तह गठन भएको वर्षौं बितिसक्दासमेत यहाँका आधा दर्जन पालिकाले अहिलेसम्म दमकल किन्न सकेका छैनन् । जिल्लाका पाँच गाउँपालिका र एक नगरपालिकासहित ६ वटा स्थानीय तहसँग बारुणयन्त्र (दमकल) छैन ।
सुनसरी जिल्लाको दक्षिणवर्ती क्षेत्र भारतीय सीमासँग जोडिएको कोशी बाहेक अन्य पाँच पालिका बारुणयन्त्र (दमकल) बिहिन रहेको स्थानीय युवा अमित मेहताले जानकारी दिए ।
स्थानीय मेहताका अनुसार भारतीय सीमासँग जोडिएको भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु , गढी गाउँपालिका र रामधुनीले दमकल किन्न नसकेका कारण स्थानीयबासीमा डरत्रास बढ्दै गएको बताए ।
यता रामधुनी नगरपालिकाका स्थानीय सागर लामीछानेका अनुसार गर्मी तथा सुख्खा मौसमको समयमा आगलागीको सम्भावना बढी हुने भएपनि दमकल नहुँदा यस क्षेत्रका स्थानीयहरु त्रसित भएका छन् ।
उनका अनुसार रामधुनी नगरपालिकाको नामाकरण गरिएको रामधुनी वनमा केही महिना अगाडी डडेलो लागेको थियो ।
वनमा लागेको डडेलो समयमा निभाउन नसकेका कारण स्थानीयवासीमा त्रास बढ्दै गएको बताए ।
रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले भने रामधुनी नगरपालिकामा दमकल किन्ने योजना ल्याएपनि रकम अभावको कारण दमकल किन्न नसकेको बताए ।
उनले भने रामधुनी नगरपालिकाको नगरसभाबाट अन्तरीक श्रोतबाट दमकल किन्न ६० लाख छुट्याएपनि समयले साथ नदिएपछि खरिद गर्न नसकेको बताए ।
विश्वभर कोरोनाको कहरका कारण यस आर्थिक वर्षमा हटिया तथा गुद्री बजार, खरीढु खोला नालाबाट नदिजन्य पदार्थको ढुङ्गा, गिट्टी, बालुवा, माटाको ठेक्का नलागेपछि आन्तरीक श्रोतको रकममा कमी आएकाले दमकल किन्न हाललाई कठिनाई भएको बताए ।
यहाँका पालिकामा रहेका बजारमा वा अन्य कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको स्थानीयबासीन्दाहरु बताउँछन् ।
त्यस्तै जिल्लाकै हरिनगर गाउँपालिका, बर्जु गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र गढी गाउँपालिकामा भने यस्तै अवस्था रहेको पाइएको छ ।
स्थानीय तहका सरकारहरुले सडक सञ्जाल विस्तार गर्न डोजर र आफ्नो विलासिता पुरा गर्नका लागि चार पाग्रें गाडी किन्न भने भ्याएका छन् ।
जनताहरुलाई प्रत्यक्ष फाइदा हुने तथा ठुलो धनजनको क्षति हुनबाट जोगाउने दमकल किन्न रकम अभाव भन्ने जनप्रतिनिधिहरु आफ्नै विलासिता पुरा गर्ने तर्फ सरिक रहेको पाइएको छ ।
सुख्खा मौसममा हुने आगलागी नियन्त्रणका लागि दमकल आवश्यक चिज हो भन्ने जाने पनि त्यसको बेवास्ता गर्दै यहाँका स्थानीय तहले अहिलेसम्म नकिनेको र योजना पनि अघि नबढाएको स्थानीयवासीहरुको जनगुनासो बढ्दै गएको पाइएको छ ।
जिल्लामा रहेका १२ वटा स्थानीय तह मध्ये धरान उपमाहानगरपालिका, इटहरी उपमाहानगरपालिका, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकासँग दमकल छ । भने अरु थप ६ वटा स्थानीय तहहरु रामधुनी नगरपालिका, हरिनगर गाउँपालिका, बर्जु गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र गढी गाउँपालिका हालको अवस्थामा दमकल बिहिन रहेकोछ ।
सीमावर्ती क्षेत्रसँग जोडिएका गाउँपालिकाहरुमा आगलागी हुँदा समयमैँ दमकल नआउँदा आगो नियन्त्रण भन्दा बाहिर जाने गरेको र सुनसरी जिल्लाको मात्रै नभई मोरंग जिल्लाबाट समेत दमकल मगाउनु पर्ने बाध्यता रहेकोछ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले दमकल सञ्चालन गर्ने व्यवस्था गरेको छ ।
Discussion about this post