इनरुवा । सुनसरी प्रहरीले समेत मास्क खै अभियान संचालनमा ल्याएको छ । समुदायमा संक्रमण फैलने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले जिल्लामा मास्क खै अभियान पूनः संचालनमा ल्याएको हो । सोही अभियान अन्तर्गत इटहरीमा पनि इलाका प्रहरी कार्यालय इटहरीले मास्क खै अभियान संचालन गरेको छ ।
अभियान अन्र्तगत प्रहरीले अनिवार्य मास्क प्रयोगमा जोड दिदै स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । प्रहरीले सर्वसाधारणले अटेर गर्ने क्रम नरोकिएको भन्दै सचेतनाका लागि अभियान थाल्नु परेको जनाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत स्वास्थ्य सावधानी अपनाउन जिल्लावासी समक्ष आग्रह गरेको छ । प्रशासनले भारतसँग सीमा जोडिएको जिल्ला भएकाले समेत कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्लावासी समक्ष स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न भनेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा बढ्दो संक्रमण दर र सकृय केसले अवस्था भयावह उन्मूख हुन सक्ने तर्फ सबै नागरिक सचेत हुन आवश्यक रहेको बताएको । प्रजिअ ढकालले स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन प्रहरीलाई आवश्यक निर्देशन दिएको छ ।
Discussion about this post