काठमाडौं । सरकारले वर्षाका कारण धानबालीमा पूर्ण रूपमा क्षति पुगेका साना किसानलाई उत्पादन लागतको ६५ प्रतिशत क्षतिपूर्ति दिने भएको छ ।
मन्त्रिपरिषद्को २ मंसिरको निर्णयअनुसार बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो, डुबानबाट धानबालीमा क्षति पुगेका किसानहरूका लागि क्षतिपूर्ति दिने मापदण्ड तयार गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयले तयार गरेको मापदण्डमा धानबालीमा पूर्ण रूपमा क्षति पुगेका मध्यम किसानलाई उत्पादन लागतको ३० प्रतिशत र धानबालीमा पूर्ण रूपमा क्षति पुगेका ठूला किसानलाई उत्पादन लागतको २० प्रतिशत क्षतिपूर्ति दिने मापदण्डमा उल्लेख गरिएको छ ।
यस्तै, धानबालीमा आंशिक रूपमा क्षति पुगेका साना, ठूला, मध्यम किसानलाई उत्पादन लागतको २० प्रतिशत क्षतिपूर्ति दिनेगरी मापदण्ड तयार गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए ।
सरकारले किसान मारमा नपरून् भनेर उनीहरूले वर्षदिनका लागि उत्पादन गरेको धानमा क्षति पुग्यो भने क्षतिपूर्ति दिने मापदण्ड नै बनाएको सञ्जेलले बताए ।
क्षतिपूर्ति दिने मापदण्ड नै बनाएपछि समस्यामा परेका किसानलाई राहत मिल्ने उनको भनाइ छ । ‘यो मापदण्डलाई अझ किसानमैत्री बनाउन सरोकारवालासँग छलफल हुन्छ । तीनै तहका सरकारबीच पनि समन्वय आवश्यक छ । मापदण्डअनुसार किसानले धानबालीमा पुगेको क्षतिको क्षतिपूर्ति पाउँछन्,’ उनले भने ।
गत कात्तिकमा आएको बेमौसमी वर्षाका ६ वटा प्रदेशमा ८ अर्ब २१ करोड रुपैयाँबराबरको धानबालीमा क्षति पुगेको छ । २ लाख ६८ हजार ८ सय ४२ मेट्रिक टन धानमा क्षति पुग्दा सो रकमबराबरको नोक्सानी भएको हो ।
Discussion about this post