इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित जिल्लाको १२ वटै स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावलीमा दर्ता छुट भएकाहरुको नामावली संकलन कार्यक्रम सुरु भएको छ । अगानी निर्वाचनका लागि भन्दै जिल्ला निर्वाचन कार्यालयले शुक्रबारदेखी १५ दिनसम्म मतदाता नामावलीमा दर्ता छुट भएकाहरुको नामावली संकलन सुरु गरेको जनाएको छ । उता जिल्लाको इटहरी उपमहानगरपालिकामा पनि शुक्रवार देखि १५ दिनसम्म मतदाता नामावलीमा दर्ता छुट भएकाहरुको नामावली संकलन सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले निर्वाचन आयोगले संचालन गर्ने मतदाता संकलन कार्य शुक्रवार देखि पुस २ गते सम्म ब्यवस्थित ढंगले संचालन गर्ने निर्णय गरेको हो । इटहरीमा मंसीर १७ र १८ गते इटहरी वडा नम्वर १०,११,१२ र १३ नम्वरको मतदाता नामावली संकलन गर्ने भएको छ । मंसीर १९ र २० गते इटहरी वडा नम्वर ५ र ९ को, मंसीर २१ र २२ गते वडा नम्वर १,१९ र २० नम्वर वडाको,मंसीर २३,२४ र २५ गते वडानम्वर वडा नम्वर २,३,१५ र १६ वडाको मतदाता नामावली दर्ता गरिने छ । यस्तै मंसीर २६ र २७ गते वडा नम्वर १७ र १८ को,मंसीर २८ र २९ गते वडा नम्वर ७, ८ र १४ को तथा पुष १ र २ गते वडा नम्वर ४ र ६ को नामावली दर्ता गर्ने कार्यक्रम तय भएको उपमहानगरका निर्वाचन सम्पर्क ब्यक्ति फाल्गुनी प्रसाद काफलेले जानकारी दिए । मतदाता नामावली दर्ता गर्न आउदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र ल्याउनुपर्ने छ । यसैगरि वाह्य जिल्ला वाट वसाई सराई आएको भए वसाई सराई प्रमाण पत्र र वाहिर जिल्लावाट विवाह भई आएको भए विवाह दर्ताको सक्कल प्रमाण पत्र ल्याउनुपर्ने जनाइएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीको परिपत्र अनुसार सवै वडाको मतदाता संकलन इटहरी उपमहानगरपालिका परिसरवाट हुने छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले मतदाता नामावलीमा कोहि नछुटुन भन्नकालागि जनप्रतिनिधि,राजनीतिकदल,नागरिक समाज लगायत सवैसँग समन्वयका लागि आग्रह गरेका छन् ।
Discussion about this post