विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्रिनसीटिको नयाँ नेतृत्वमा विश्वकान्त दाहाल निर्वाचित भएका छन् ।
लायन्स ३२५ ए–वानका डिस्ट्रिक्ट गभर्नर रेवत बहादुर कार्कीको प्रमुख उपस्थितिमा सम्पन्न पदभार हस्तान्तरण कार्यक्रममा दाहालले नयाँ नेतृत्व सम्हालेका हुन्।
सन् २०२१-२२ का लागि नेतृत्व ग्रहण गर्दै दाहालले सामाजिक सेवाको क्षेत्रमा आफू र आफ्नो क्लब सधैं अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रतिवद्धता जनाए । ग्रिनसिटी मार्फत सन् २०१२ बाट लायन्समा प्रवेश गरेका दाहालले उक्त क्लबमा जोडिएर बिभिन्न सेवाका गतिविधिहरुमा सकृय रहँदै आएका थिए ।
‘गभर्नरको योजना र लायन्सको सेवा भावना अनुरुप हामीले बिभिन्न सहयोगका कार्यक्रमहरु अघि बढाएका छौं । यसलाई निरन्तरता दिँदै सामाजिक रुपान्तरणमा भूमिका खेल्न हामी प्रतिवद्ध छौं,’ अध्यक्ष दाहालले भने, ‘हाम्रो क्लबले सामाजिक सेवाको क्षेत्रमा विगतदेखि गर्दै आएको सेवामुखी कामहरुलाई निरन्तरता दिनेछ । जसमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा हामी बढी सेवा प्रदान गर्नेछौं ।’
अध्यक्ष दाहालको कार्यकाल सुरुहुँदै बिभिन्न सामाजिक गतिविधिहरु सुरुभएका छन् । जसअन्तर्गत क्लबले मायाको छात्रावासमा खाद्यसामग्री सहयोग गरेको छ भने बाढी पीडितलाई खाद्यान्न सहयोग गरेको छ ।
त्यस्तै पोखरिया कराँतेका खेलाडीहरुलाई आवश्यक सामग्री सहयोग गर्नुका साथै गढी गाउँपालिकामा स्वास्थ्य शिविर तथा सफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आँखाको चेकजाँच, मातियाविन्दुको निःशुल्क अप्रेशन तथा चस्मा वितरण गरिएको थियो । सोही पालिका क्षेत्रमा सरसफाई अभियान सञ्चालन, जनचेतनामूलक जानकारी साथै मास्क सेनिटाइजर वितरण गरियो ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय मोरङमा मास्क सेनिटाइजर र कोभिड ग्लास वितरण गरेको थियो । विराटनगर ३ मा अवस्थित मदननगर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यसहित शैक्षिक सामग्री वितरण गरिएको थियो । सोही विद्यालयको बालकक्षामा रंगरोगन साथै भित्तेलेखन कार्यक्रम गरेको थियो ।
क्लबले उत्कृष्ट पत्रकारिता, विद्यार्थी छात्रवृत्ती र उद्यमशिलता विकासमा हौसला प्रदान गर्ने उद्देश्यसहित अक्षकोषको सुरु गरेको छ भने आगामी योजना अन्तरगत अन्य क्लबसँगको सहकार्यमा कंचनबारीस्थित सरकारी विद्यालयमा छात्रा शौचालयको निर्माण कार्य सुरु गरेको छ । विद्यालयमा छात्रा शौचालयको समस्या भएको विषयलाई सम्बोधन गर्दै छात्रा शौचालय निर्माणको काम अघि बढाइएको हो ।
त्यस्तै, दाहालको नेतृत्वमा लायन्स क्लब अफ विराटनगर ग्रिनसीटिको आफ्नै दुईतले भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । अधुरो भवन पुरा गर्दै भवनको एउटा तला डिस्ट्रिक्टलाई दिने निर्णय गरेको छ । क्लबको आगामी कार्यक्रममा विपन्न बालबालिकालाई नियमित विद्यालय ल्याउन सहयोग गर्ने उद्देश्यसहित केही दिन भित्रै मदननगर आधारभूत विद्यालयमा अध्ययनरत २ सय १६ विद्यार्थीहरुलाई न्यानो कपडा वितरणको कार्यक्रम राखिएको अध्यक्ष दाहालले बताए ।
क्लबको इन्डक्सन एण्ड इन्स्टलेसन सेरेमनीमा अपांगता भएका दुई व्यक्तिहरु मुजाहिर अन्सारी र जमुना कुमार राईलाई सम्मान तथा सहयोग प्रदान गरिएको क्लबका कोषाध्यक्ष भवेश पौडेलले जानकारी दिए । सो कार्यक्रममा मदन नगर आधारभूत विद्यालयका ७ जना अब्बल छात्रछात्राहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो भने कराँतेका खेलाडीहरुलाई ड्रेस प्रदान गरिएको थियो । सो क्रममा ग्रिनसीटिका चार्टर प्रेसिडेन्ट, क्लबका सल्लाहकार एवम सामाजिक व्यक्तित्व देवकिसन मुन्दरालाई अन्तर्राष्ट्रियको लोगोसहित सम्मान गरिएको थियो । कार्यक्रममा सामाजिक अभियन्ता श्रीमन्त भट्टराई, पेरीस सुवेदी, निकेस साह र पत्रकार पदम सरदारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा लायन्स ३२५ ए–वानका पूर्व डिस्ट्रिक गभर्नर भीम घिमिरे, लिला ढुंगेल, इन्द्र खत्री राजन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Discussion about this post