इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा केही महिना अघि आएको बाढीले प्रभावित परिवारलाई सहारा नेपालले राहत वितरण गरेको छ । बिहिबार भोक्राहा नरसिंह गाउँपालिकाका ४,५,७ र ८ नं. वडाका बाढी प्रभावित ५ सय ८५ परिवारलाई राहत वितरण गरिएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले पिडित परिवारलाई राहत सामाग्री वितरण गरिएको थियो । उनले विभिन्न वडामा पुगेर राहत सामाग्री वितरण गर्नुका साथै स्थलगत अनुगमन गरिएको थियो ।
बाढी तथा डुवानबाट पिडित भएका परिवारलाई सामाग्री वितरण गर्दै कार्यवाहक अध्यक्ष मेहताले विपदको समयमा राहत सामाग्रीले ठुलो सहयोग पुगेको बताइन् । गाउँपालिकाले यस अघि वितरण गरिएको सामाग्री प्रयाप्त भएको अवस्थामा सहारा नेपालले खाद्य समाग्री प्रदान गर्दा थप सहयोग पुगेको उनलेे बताइन् ।
यता, वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र यादवले बाढीले डुवानमा परी बिहान बेलुका दैनिकी गुजारा गर्न गाह्रो परिरहेका परिवारलाई खाद्य सामाग्रीले ठुलो सहयोग पुग्ने बताए ।
कात्तिक महिनाको ३ गते आएको बेमौसमी बर्षाले भोक्राहा नरसिंह गाउँपालिकामा ठुलो क्षति पुर्याएको थियो ।त्यसमा पनि विशेष गरी गाउँपालिकाकाे वडा नम्बर ४,५,७,८मा धानबाली, आलु बालीमा बढी क्षति पुगेको गाउँपालिका कार्यालयले जनाएको छ ।गाउँपालिकाले नै उपलब्ध गराएको विवरणकाे आधारमा बाढी प्रभावित रहेको वडामा पुगेर सहारा नेपालले खाद्यान्न सामाग्री वितरण गरेको हो । एक्सन एगेन्स्ट् हंगर नामक संस्थाको आर्थिक सहयोग र गाउँपालिकाको सहकार्यमा सहारा नेपालले राहत सामाग्री वितरण गरेको हो ।
बाढी प्रभावित भएका प्रति परिवारलाई चामल २५ के.जी., दाल १० के.जी ,चिनी २ के.जी ,२ लिटर तेल, २ के.जी गेडागुडी,नुन,साबुन,बाल्टी,क्लोरिन झोल लगायतका सामाग्रीहरु वितरण गरिएको सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिनाले जानकारी दिए ।
विपदको समयमा प्रभावित भएका परिवारको लागि बाढि प्रतिकार्यात्मक परियोजना अनुसार पिडित परिवारलाई राहत सामाग्री वितरण गरिएको सहारा नेपालका कोषाध्यक्ष श्यामकुमार प्रधानले जानकारी दिए ।
Discussion about this post