सन्तोष मेहता/बिराटनगर ।
सशस्त्र प्रहरीले विराटनगरबाट आज बिहान तस्करीका सामान बरामद गरेको छ । भन्सार छली गरेर अवैध रूपमा ल्याइएको सामान विराटनगर महानगरपालिका‒१६ हुलास मेटल चोकनजिकबाट सशस्त्रले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानीको टोलीले बरामद गरेको धाराको टुटी लगायत बाथरुममा प्रयोग हुने अवैध सामान ५ लाख ७५ हजार मूल्य बराबरको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले सामान बरामद गरेर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए । भारतको जोगवनीबाट अवैध तरिकाले ल्याएको सामान हुलास मेटल चोकनजिक भण्डारण गरेर राखिएको अवस्थामा फेला परेको उनकाे भनाइ छ । पौडेलका अनुसार सामान कसको र कसले तस्करी गरेर ल्याएको हो भन्ने यकिन हुन सकिरहेको छैन । यस विषयमा अनुसन्धान भइरहेको छ । नेपाल‒भारत सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई छलेर तस्करी गर्दै सामान जोगवनीबाट विराटनगर ल्याइएको हुनसक्ने सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले बताए । सुरक्षाकर्मीबाट कटाएर गन्तव्यसम्म पुर्याउन नसकेपछि एक ठाउँमा थोपरेर राखिएको अवस्थामा सामान फेला परेको उनको भनाइ छ । तस्करी एवं सीमा क्षेत्रबाट हुने अवैध गतिविधी नियन्त्रणमा लिन डीआईजी गिरीले प्रदेश १ का सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीलाई सक्रिय परिचालन गरिएको छ । विशेष टोली परिचालन गरेर तस्करीविरुद्धको अभियान सञ्चालन गर्दै नेपाल‒भारत सीमा क्षेत्रमा कडाइ गर्न थालिएको जानकारी दिए ।
Discussion about this post