टीकापुर/ कैलालीका अर्जुन दासको हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले गाउँपालिका बन्द गराएका छन् । कैलालीको जानकी गाउँपालिका ९ का २५ वर्षीय अर्जुन दासको हत्या भएको एक हप्ता पुग्न लाग्दासम्म पनि संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय वासिन्दाले बिहीबार जानकी गाउँपालिका बन्द गराएका हुन् ।
स्थानीयहरुले हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेर पीडित पक्षले आन्दोलन जारी राखेका छन् । प्रशासनले अपाराधीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै पुर्व निर्धारित कार्यक्रम अनुसार संघर्ष समितिले आज गाउँपालिकाका कार्यालयमा ताला लगाएर गाउँपालिका बन्द गरेको हो ।
मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन गरेका उनीहरूले बिहीबार जानकी गाउँपालिका बन्द गर्नुका साथै गाउँपालिका कार्यालय घेराउ गरेका थिए। संघर्ष समितिका संयोजक ललित परियारले बिहीबार गाउँपालिकाका वडा कार्यालयहरु पनि बन्द गरिएको जानकारी दिए ।आज स्थानीय सरकारलाई दबाब दिने र सोका लागि जानकी गाउँपालिकाका सबै सरकारी कार्र्यालय बन्द गर्ने ,भोलि शुक्रवार भुपेन्द्र बडुवाल र अर्जुन दासको न्यायका लागि कैलालीको लम्की क्षेत्रमा पर्ने पुर्वपश्चिम राजमार्ग र बजार दिन भरि बन्द गर्ने संघर्ष समितिले जानकारी दिएको छ। पौष ३ गते शनिवार जानकी गाउँपालिका वडा नं.९ मा रहेको स्थानीय अमरावती सामुदायिक बनमा हात खुट्टा पछाडी बाधेर नग्न बनाई शरिर बाट टाउको अलग गरेर हत्या गरेको अवस्थामा अर्जुन दासको शब फेला परेको थियो ।
विभत्स हत्या गरिएको अर्जुनको शब घटना स्थलबाट पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिए पनि शबलाई परिवारले अहिले सम्म बुझेको छैन। दासको हत्याको जिम्मेवारी लिएको अडियो उनकी श्रीमतीको फेसबुक म्यासेन्जरमा समेत पठाइएको थियो । सो कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ । घटनापछि उनीहरू गौरीफन्टा नाका हुँदै भारत प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हत्यामा संलग्नहरूको पहिचान भइसकेको तर उनीहरु फरार भएकाले खोजी जारी राखिएको बताए । पीडित परिवारले हत्यामा संलग्नलाई कानुनी कारबाही र अन्य माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान राखेका छन् । अर्जुनको शव टीकापुर अस्पतालमा राखिएको छ ।
Discussion about this post