संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्षसहित संवैधानिक आयोगका अमेरिका जाने निर्णयको चौतर्फी विरोध भएको छ ।
गाउँपालिकाबाट अमेरिका भ्रमणमा जाने खर्च विवरण बाहिरिएपछि सामाजिक सञ्जाल तातिएको छ । माघ ४ र ५ गते अमेरिकामा हुने छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने जाने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो ।
भ्रमण खर्चको विषयलाई लिएर चर्को विरोध भएपछि अध्यक्ष शेर्पाले पत्रकार सम्मेलन गरेर खण्डन गरेका छन् । स्मार्ट सिटी सम्बन्धी अमेरिकाको सिकागोमा हुने कार्यक्रममा निम्तो आएपछि व्यक्तिगत खर्चमा जाने गरि प्रक्रिया अघि बढाईएको अध्यक्ष शेर्पाले बताए । आयोजकबाट पालिकालाई निम्तो दिईएको र सोहि अनुसार संबैधानिक आयोगका पदाधिकारीहरु समेत सहभागी गराउने गरि कार्यपालिकाले निर्णय गरेको अध्यक्ष शेर्पाले बताए ।
संवैधानिक आयोगका पदाधिकारीहरूलाई टोलीमा राख्दा भिजा लाग्ने सम्भावना बलियो हुने भएकोले उनीहरुलाई संलग्न गर्न खोजिएको अध्यक्ष शेर्पाले जानकारी दिए । जनप्रतिनिधि भएपछि मात्र एसिया र युरोपका ६ देशको भ्रमण गरिसकेको र त्यस क्रममा पालिकालाई कुनै व्ययभार नगराएको अध्यक्ष शेर्पाले बताए । जनताबाट संकलित राजश्व व्यक्तिगत लाभका लागि खर्च गर्न नहुनेमा आफू सचेत रहेकोले हालसम्म भ्रमण शीर्षकमा पालिकालाई खर्च नगराएको शेर्पाको भनाइ छ ।
जनप्रतिनिधि भएपछि फ्रान्स, स्पेन, बेल्जियम, नेदरल्याण्ड, बंगलादेश र भारत भ्रमण गरिसकेको अध्यक्ष शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार अहिले पनि आफ्नै व्यक्तिगत खर्चमा अमेरिका जान लागेको बताए ।
गाउँपालिकाले ९ जनाको टोली अमेरिका पठाउने ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च विवरण पनि पास गरेको थियो । अमेरिकामा हुने कार्यक्रममा सहभागि गराउन गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, छोरा थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाल पठाउने निर्णय गरको थियो । दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पागरी तीन जनाले १० दिनको भ्रमण र दैनिक भत्ता ९टीएडीए० बापत प्रतिव्यक्ति २२ सय ५० डलर ९प्रतिदिन २ सय २५ डलर० पाउने उल्लेख छ । त्यसैगरी अञ्जु ढुंगाना थिलेन शेर्पा र नरेश रिजालले १२ सय ५०, मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दिपेश रिजालले नौ सय डलर ९९(डलर प्रतिदिन) का दरले टीएडीए पाउने गरी गाउँपालिकाले निर्णय गरेको थियो ।श्रोतः हाम्रोमत
Discussion about this post