सन्तोष मेहता / विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कोरोनाको ओमिक्रोन भेरियन्टको प्रभाव नदेखिए पनि सतर्क हुनुपर्ने अवस्था आएको बताएको छ । आज मुख्यमन्त्री कार्यालयमा आयोजित छलफलमा मुख्यमन्त्री राईले हाल प्रदेश १ मा दैनिक संक्रमितको संख्या कम देखिए पनि छिमेकी भारतमा कोरोनाको नयाँ भेरियन्टका विरामीको संख्या दिनानुदिन बढ्दै गएका कारण सतर्क हुनुपर्ने बेला भइसकेको बताएको हो । नेपालमा अहिले अवस्था सामान्य भए पनि छिमेकमा तीव्र रुपमा संक्रमण फैलिएकाले डराउनुपर्ने बेला भइसकेको उनको भनाई छ । राईले कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन के गर्ने र फैलिएको अवस्थामा के गर्ने भन्ने विषयमा सुझाव लिन सुरक्षा निकाय र सरोकारवालहरूसँग छलफल गर्नुपरेको बताए। उनले छलफलमा दिइएका सुझावहरूका आधारमा प्रदेश सरकारले आबश्यक बजेट र कार्यक्रमहरू तय गर्ने जानकारी दिए ।
मुख्यमन्त्री राईले कोरोनाको तेस्रो लहरले खतराको घण्टी बजाइसकेकाले विगतमा जस्तै सबैको सहयोगमा नयाँ भेरियन्टविरुद्ध प्रदेश सरकारले कदम चाल्ने स्पष्ट पारेका हुन् । कार्यक्रममा सामाजिक विकासमन्त्री जयराम यादवले स्वास्थ्य संस्थामा जनशक्ति र बजेट अभाव रहेको बताए । उनले कोरोनाको संभावित तेस्रो लहरलाई मध्यनजर गरेर राजनीतिक दलका सभा, सम्मेलन, भेला, जुलुस जस्ता कार्यक्रहरू घटाउँदै लैजानु आबश्यक रहेको धारणा राखेका थिए । विराटनगर महानगरपालिकाका मेयर भीम पारजुलीले भारतबाट आउनेलाई अनिवार्य परिक्षणको व्यवस्था गर्न, विराटनगरस्थित आइसीपीमा हेल्थ डेक्सको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरे। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न मन्त्रालयका सचिव तथा मन्त्रीहरूको सहभागिता रहेको थियो ।
Discussion about this post