सन्तोष मेहता / विराटनगर ।चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कमा विद्यार्थीलाई पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले नोवेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । आज आन्दोलनरत विद्यार्थीहरूले नोवेल मेडिकल कलेजको प्रशासन कार्यालयमा तालाबन्दी गरेका हुन् । मंगलबार विद्यार्थीहरूले अतिरिक्त शुल्क नलिन र विद्यार्थीलाई पठनपाठनको व्यवस्था गर्न माग गर्दै नोवेललाई २४ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका थिए ।
अतिरिक्त शुल्क बुझाएका र विदेशी विद्यार्थीलाई मात्रै पठनपाठन गराएर नोवेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई पठनपाठनबाट वञ्चित गर्दै आएको थियो । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विभिन्न निकाय धाएका विद्यार्थीहरूले कतैबाट सुनुवाई नभएपछि एक सातादेखि नोवेल मेडिकल कलेज परिसरमा धर्ना, आन्दोलनलगायतका विरोधका कार्यक्रम गर्दै आएका थिए । धर्ना विरोधलगायतका आन्दोलनका कार्यक्रम कलेज प्रशासनले विद्यार्थीको माग सुनुवाई नगरेपछि विद्यार्थीहरूले कलेजको प्रशासन कार्यालयमै तालाबन्दी गरेर आन्दोलन सशक्त पार्दै लगेको जनाएका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने स्पष्ट पारेका छन् । नोवेल मेडिकल कलेजको मनोमानीविरुद्ध आन्दोलनरत विद्यार्थीहरूलाई अनेरास्ववियू, कान्तिकारी विद्यार्थी संंगठनलगयातका ५ वटा विद्यार्थीका संगठनहरूले पनि सहयोग गरेका थिए ।
Discussion about this post