शिक्षक हरिबहादुर सरको बिबाह भयो नयाँ दुलही भित्र्याएकोमा हरिबहादुर सर मख्ख थिए । दिनमा नयाँ दुलही घरमा सासु ससुराको सेवा गर्थिन भने शिक्षक हरिबहादुर नजिकैको स्कुलमा पढाउन जान्थे ।
बिस्तार बिस्तारै दिन बित्दै गयो हरिबहादुर सरको एउटा छोरा जन्मियो । घरमा खुशिको रौनक छायो , सबैको मुख उज्यालो भयो सबै आफन्तजन इष्टमित्र छरछिमेकले हरिबहादुर सरको दुई जोडिलाई बधाई दिए।
हरिबहादुर सरको श्रीमती काँखको नाबालक छोरासंग रमाउन थालिन , बिस्तारै उनको चुलाचौका घर धन्दामा समय कट्न थाल्यो , सर दिनभर स्कुलमा ब्यस्त हुन थाले । दिन बिते सँगै फ़ेरि हरिबहादुर सरको घरमा अर्को खुशिको कुरा सुन्न पाइयो हरिबहादुर सरको श्रीमतिले गुडिया जस्तै एउटि छोरी जन्माइन फेरि उसैगरी सबै जनाले घरमा लक्ष्मी आइन भनेर पालैपालो बधाई दिए।
हरिबहादुर सर र उनको श्रीमतिले यो निर्णय गरे कि दुई सन्तान ईश्वरको बरदान भन्ने हेतुले अब यतिमै सिमित रहने आफुमा बाचा गरे ।
दिनहरू बित्दै गए शिक्षक हरिबहादुर सरको अचानक मृत्यु भयो। बेलुका सँगै सुतेका श्रीमान श्रीमती बिहान अबेरसम्म श्रीमान नउठेपछि भान्साबाट उनको श्रीमतिले ओछ्यानमा नै चिया लिएर गइन ।
सुतिरहेका श्रीमानलाई उठ्नुहोस दल्यानसम्म घाम आइसक्यो लिनुहोस चिया सेलाइसक्यो भनेर हातले सिरक जिउबाट पन्छाउदै श्रीमानलाई हल्लाएर उठाउन खोज्दा श्रीमानको खुट्टाको पँन्जा खुम्चिएको हात तन्किएको अरअरो अबस्थामा देखेपछि उनले टेकेको जमिन धसिएझै भयो, उनको बोल्ने शक्ति हरायो , मुख सुक्यो बाहिर घाम लागिरहेको छ तर उनको लागि आकाश कालो बादलले ढाकेको जस्तै भयो, हातगोडा चल्न छाड्यो संगै बाँच्ने सँगै मर्ने कसम खाएका जोडी ,अल्पआयुमै श्रीमानले चट्टकै छोडेर गए।
हरिबहादुर सरको काम सकियो, बिचरी उनको श्रीमतीको अनेकौं रहर सपनाहरु कलिलो उमेरमा नै सकियो । अब ऊनी नितान्त एक्लि भइन .. श्रीमान ले लाउला खाउला भन्ने कलिलो उमेरमा छाडेर गएपछि दुई छोराछोरीको जिम्मेवारी काँधमा लिनुपर्यो । छोराछोरीको स्कुल टिफिन देखि बिहेदानसम्म अब हरिबहादुर सरको श्रीमतिको एकल काँधमा आइ लागेको थियो .।
घरमा केहि सहज बाताबरण भएपछि घर व्यबहार चलाउनको लागि अब उनले घरबाहिर निस्कने निर्णय गरिन । उनले आफ्नो योग्यता अनुसार नजिकैको स्कुलमा काम गर्न थालिन , जहाँ स्कुलको काम पनि होस छोराछोरीको फिस टिफिन देखी घरको चुलो बल्नलाई मद्दत पुगोस् ।
उनलाई साथ दिने हरिबहादुर सर अब यस संसारमा रहेनन् एकल भइन ऊनी । घर चलाउन छोराछोरीलाई शिक्षा दीक्षा दिन ऊनी अहोरात्र खटिरहिन ।
दिनहरू बित्दै जान्छ उनको काँधमा जिम्मेवारी थपिदै जान्छन् गाउँ समाजमा बसेपछि एकल महिलालाई हेर्ने दृस्ठि नै फरक हुन्छ । घर देखि स्कुल जाने क्रममा छिमेकी कसैले आउनुहोस् मोटरसाइकलमा बस्नुहोस म तपाईंको स्कुल हुँदै जाने काम छ भनी मोटरसाइकल चढेर जान बाध्य बनाउछन । उसैगरी स्कुलका सहपाठी सरहरु स्कुल छुट्टी भएर घर आउने क्रममा आउनुहोस मेडम पानी पर्न लागेको छ. मेरो तपाईंको घरको बाटो हुँदै जाने कामपनी छ भनेर भन्दा मनले हार्न सक्दैन मोटरसाइकलमा बसेर आउदा छिमेकका दिदिबहिनीले कुरा काट्न थाल्छन् हेर-हेर कति चैन छ उसलाई लोग्ने मरेदेखी बिहान पुर्याउने भिन्दै ल्याइदिने भिन्दै यहाँ महिलाको दुश्मन महिलानै हुन्छन् ।
महिलालाइ हरेक कुरामा पुरुषको आवस्यक पर्छ । घर संसार चलाउन देखि समाजमा केहि काम गर्नुपरेमा, केहि सल्लाह लिनु परेमा , केहि निर्णय लिनुपरेमा पुरुषको आवश्यक पर्छ । पुरुषहरूले एकल महिलालाई आफुले सकेको सहयोग गर्दा समाजले हेर्ने दृस्ठि बद्लिनुपर्छ । आज उनलाई परेको छ , हरिबहादुर सर अल्पआयुमै स्वर्गवास भएकाले । भोलि यही अवस्था तपाइँ हामिलाई नआउला भन्न सकिदैन ।
विधुवा माथि गर्ने भेदभाव , समाजले लिरहने नकारात्मक सोच मानिसमा चेतना र शिक्षाको स्तर बुद्धि सङ्गै यस प्रकारको सोचको अन्त्य हुनुपर्छ ।
एकल महिलाले पुरुषको सहयोग पनि लिनुपर्छ र पुरुषले पनि एकल महिलालाई समर्थन गर्नुपर्छ ।
तस्बिर – सामाजिक संजाल
लेखक – सन्तोष कार्की मौसुफ
Discussion about this post