इनरुवा । पछिल्लो समय यता १२ वटा स्थानीय तह र ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरी जिल्लामा २२ हजार ६९३ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियान अन्तर्गत नयाँ मतदाता थपिएका हुन् । थपिएका कुल संख्यामध्ये महिला ११ हजार ४३२ जना र पुरुष ११ हजार २६० जना रहेका छन् ।
जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखि १९ पुससम्म सञ्चालन भएको थियो । पहिलो चरणको १७ मंसिरदेखि २ पुससम्मको विशेष कार्यक्रमअन्तर्गत १० हजार ३२४ जना मतदाता थपिएका हुन् ।
नयाँ मतदाता थपिएका मध्ये इटहरी उपमहानगरपालिकामा तीन हजार ६६२, रामधुनी नगरपालिकामा एक हजार ६६५ जना, देवानगञ्ज गाउँपालिकामा ६६५ जना, बर्ज गाउँपालिकामा ७८१ जना र भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार १५० गरी कुल ७ हजार ९२३ जना रहेका छन् । पहिलो चरण अन्तर्गत नै विशेष अभियान चलिरहेको समयमा प्रशासन कार्यालयहरूमा दुई हजार ४०१ जनाले नामावली दर्ता गराएका छन् ।
त्यस्तै ११९ पुससम्म भएको दोस्रो चरणमा १२ हजार ३६९ जनाले नामावली दर्ता गराएका छन् । दोस्रो चरणमा भएका जिल्लाका स्थानीय तह दुहवीमा एक हजार ५९० जना, वराहक्षेत्रमा दुई हजार १५९ जना, कोशीमा एक हजार ३८३ जना र गढीमा एक हजार ४२८ जनाले नामावली दर्ता गराएका हुन् ।
दोस्रो चरणको समय अवधिमा विभिन्न प्रशासन कार्यलय मार्फत पाँच हजार ८०९ जनाले नामावली दर्ता गराएका थिए ।
Discussion about this post