इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् ।
शनिबार इनरुवामा यहाँका सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग काँग्रेसको गठबन्धन नहुने स्पष्ट पारेको बताए ।
नेता कोइरालाले भने, “अब काँग्रेस एक्लै चुनाव लड्छ । काँग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा काँग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ ।”
उनले आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा कुनै दुविधा नरहेको जानकारी दिए ।
पार्टीका सभापति तथा प्रधानमन्त्रीले आफूखुसी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्नुपर्ने अवस्था आउनसक्ने नेता कोइरालाले बताए ।
उनले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण बनिनसकेको दाबी गरे । नेता कोइरालाले भने, “सभापतिले म सबैको सभापति हुँ भन्नुभएको छ, त्यो देखाउनुपर्यो । देखिने गरी हुनुपर्यो, न्यायसंगत हुनुपर्यो ।” आम नेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसदमार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताउँदै उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको उल्लेख गरे । नेता कोइरालाले अवरुद्ध संसद् सञ्चालन गर्नतर्फ काँग्रेस र एमाले दुवै लाग्नुपर्नेमा जोड दिएको बताए ।
Discussion about this post