विराटनगर । समय नपुगि जन्मिएका १० जना शिशुहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन विराटनगर आँखा अस्पताल सफल भएको छ । पछिल्लो एक वर्षमा अस्पतालले समय भन्दा पहिले जन्मिएका शिशुहरुको दृष्टि जोगाउन सफल भएको अस्पालका कार्यक्रम निर्देशक सुधिर ठाकुले बताए ।
शरिरका अंगहरु पूर्णरुपमा विकसित भइनसकेका शिशुहरु जन्मिएको खण्डमा एक महिनाभित्र त्यस्ता शिशुहरुको अनिवार्य आँखा जाँच गराइ उपचार गराउन नसके शिशुहरु अन्धोपनको शिकार हुनसक्ने जोखिम बढी हुन्छ ।
विराटनगरका विभिन्न अस्पतालमा अघिल्लो वर्ष २५५ जना शिशुहरु समय नपुगि जन्मिएका थिए । त्यस्ता शिशुहरुको समयमै आँखा परीक्षण गरी अंगहरु विकास हुने क्रममा आँखामा उत्पन्न हुने समस्या निराकरण गर्न सफल भएको डा। रक्षा पन्तले जानकारी दिइन् ।
विराटनगर आँखा अस्पतालले विराटनगर र आसपासमा सञ्चालित अस्पतालका एनआइसियूहरुमा साताको एक दिन निशुल्क शिशुहरुको आँखा परीक्षण सेवा सञ्चालन गरेका कारण ती शिशुहरुको दृष्टि जोगिएको हो । डा। पन्तले भनिन् ‘एनआइसियूमा उपचाररत शिशुहरुको आँखा ३० दिन भित्रमा जाँच हुन नसकेको भए यस अवधिमा १० जना शिशुहरुको दृष्टि गुम्ने थियो, हाम्रो सेवाबाट त्यो जोखिम घटेको छ ।’
समय अगाडि जन्मिने शिशुहरुमा ‘रेटिनोपैथी अफ प्रि मेचुरिटी’ को समस्या हुनसक्ने सम्भावना अधिक हुने र त्यसको उपचार ३० दिनभित्रै गरिसक्नु पर्ने हुन्छ । आँखा विकास हुने क्रममा ३४ हप्ता वा त्यस भन्दा पहिले जन्मिएका शिशुहरुको दृष्टिपर्दा नष्ट हुने समस्याले अन्धोपन हुनेगर्छ । ३० दिनभित्र उपचार नगरेमा पछि आँखाको उपचार सम्भव नरहेको चिकित्सकहरुले बताएका छन् ।
त्यस्ता शिशुको दृष्टिपर्दामा उत्पन्न हुने समस्या समाधान गर्न लेजरलाइट, इन्जेक्सन र शल्यक्रिया तीनवटा उपचार विधि प्रयोग गर्ने गरिएको डा। पन्तले बताइन् । आँखाको पर्दामा रगतका नशा फुटेर क्षति भएको अवस्थामा शल्यक्रिया समेत गर्नुपर्ने उनले जानकारी दिइन् ।
समय नपुगि शिशु जन्मिएमा एक महिनाभित्र आँखा परीक्षण गराउनु पर्छ भन्ने विषयमा अभिभावकहरु सचेत नभएका कारण कतिपय क्षति हुने गरेको छ । कतिपय वर्थिङ सेन्टर र अस्पतालहरुमा आँखा उपचार सेवा नहुँदा पनि शिशुहरुले नेत्रज्योति गुमाउने गरेका छन् । पूर्ण विकसित नभई जन्मिएका शिशुहरुलाई अनिवार्य आँखा परीक्षण गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरी जनचेतना अभिवृद्धि गर्नु अनिवार्य भएको आँखा उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
नेपालमा वर्षेनी ६ लाख शिशुको जन्म हुने गरेकोमा करिब ६० हजार शिशु समय अगावै जन्मिने गरेका छन् । त्यसको केही प्रतिशतमा आँखाको आरओपी ९रेटिनोपैथी अफ प्रि म्याचुरिटी०को समस्या हुने गरेको छ ।
विराटनगर आँखा अस्पतालले हरेक हप्तामा अस्पतालमा आरओपी क्लिनिक सञ्चालन गरिरहेको अस्पालका कार्यक्रम निर्देशक सुधिर ठाकुले बताए ।
सुक्ष्म दृष्टि भएकालाई विशेष किचन
विराटनगर आँखा अस्पतालले सुक्ष्म दृष्टि भएकाहरुका लागि विशेष प्रकारको किचन बनाउन पनि सचेतना प्रवाह गर्दै आएको छ । त्यसका लागि अस्पतालमै डेमो किचन तयारी गरी अस्पताल पुग्नेहरुलाई त्यस विषयमा जानकारी गराउने गरेको छ ।
विराटनगर रानी स्थित अस्पताल भवनमा अलग्गै सुक्ष्म दृष्टि उपचार केन्द्र सुरु गरेर अस्पतालले सुक्ष्म दृष्टि भएकाहरुलाई बुझाउन विशेष प्रकारको डेमो किचन सञ्चालनमा ल्याएको छ । कार्यक्रम निर्देशक सुधिर ठाकुरका अनुसार अस्पतालमा उपचार गराउन आउने सुक्ष्म दृष्टि भएका विरामीहरुलाई डेमो किचनमा लगेर आवश्यक प्रशिक्षण पनि दिने गरिएको छ ।
डेमो किचनमा प्रकाश अनुकुल हुने प्रकृतिका भाँडाकुँडा प्रयोग गर्नुपर्ने बेसिन, चुल्हो, खाद्यान्न र मसलाका डब्बाहरु राख्ने उचित व्यवस्था सहितको संरचनाहरु निर्माण गरिएका हुन्छन् । जसले गर्दा सुक्ष्म दृष्टि भएकाहरुलाई आत्मनिर्भर भएर काम गर्न सहयाग हुने विश्वास गरिएको छ ।स्रोतः हाम्रोमत
Discussion about this post